फिल्म ‘बलिदान’को शीर्ष गीत सार्वजनिक
दशैंको फूलपातीलाई विशेष बनाउँदै प्रदर्शन तयारीमा रहेको फिल्म ‘बलिदान’ ले आफ्नो शीर्ष गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक गरेको छ। गीतलाई ‘लिरिकल’ शैलीमा रिलिज गरिएको हो।

गीतमा स्वर तथा सङ्गीत सुजन चापागाईंको छ भने हर्क साउदले भावनात्मक शब्द भरेका छन्। मातृभूमि र आमाप्रतिको पुत्रीय समर्पणलाई गीतमा सशक्त ढंगले उतारिएको छ। नायकको आवाजमार्फत देश र आमाप्रतिको अथाह माया, आहुति र बलिदानको गहिरो भाव उजागर भएको छ।
सन्तोष सेन निर्देशित फिल्ममा पवन विष्ट निर्माताका रूपमा छन् भने प्रेम पुरी कार्यकारी निर्माता हुन्। दशैंको पवित्र अवसरमा सार्वजनिक गीतले दर्शक तथा श्रोतामाझ देशभक्ति र आत्मबलिदानको भाव जगाउने अपेक्षा गरिएको छ।
समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी, सन्तोष सेन, प्रेम पुरी, कामेश्वर चौरासियाको अभिनय छ । यो फिल्म दशैं फूलपातीको अवसरमा असोज १३ गतेदेखि प्रदर्र्शन हुने तयारीमा छ ।








