‘अभिमन्यु : च्याप्टर १’ असोज १३ गते फूलपातीमा
चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ आगामी असोज १३ गते फूलपातीका दिनदेखि देशभर र विश्वव्यापी रूपमा एकैसाथ प्रदर्शनमा आउने भएको छ। यसअघि भदौ २७ गते प्रदर्शनमा ल्याउने तयारी भए पनि ‘जेनजी’को प्रदर्शन र मुलुकको विषम परिस्थितिका कारण मिति सारिएको निर्माण कम्पनी सेभेन सिज नेपाल ले जनाएको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै अहिलेको परिस्थितिलाई सकारात्मक दृष्टिले लिएर चलचित्रलाई गतिशील बनाउन नयाँ मिति घोषणा गरिएको जनाएको हो।

हिन्दी भाषामा भने यो चलचित्र असोज १७ गतेदेखि भारतसहित विश्वव्यापी रूपमा रिलिज हुने भएको छ।निर्माता विनोद पौडेलका अनुसार प्रचार–प्रसारमा ठूलो बजेट खर्च भइसकेकाले लामो समयसम्म दर्शकलाई होल्ड गर्न नसकिने भएपछि फूलपातीमा रिलिज गर्ने निर्णय गरिएको हो। उनले भने, “हामी कसैसँग जुध्ने वा जुधाउने उद्देश्यले आएको होइनौँ। परिस्थितिले हामीलाई असोज १३ मा ल्याइपुर्याएको हो।”

‘अभिमन्यु : च्याप्टर १’ मा कलाकारहरू कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देलको मुख्य भूमिका रहेको छ।सुशान्त गौतम निर्देशित चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् भने कथा मुकेश खनालले लेखेका हुन्। निर्माता विनोद पौडेल र गुञ्जन गिरी रहेका यस सिनेमामा रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता छन्। कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।
शरद महतोले छायांकन गरेको चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन र मदन घिमिरेको सम्पादन रहेको छ।
For More videos Log on to Mazzako TV







