डेब्यू निर्देशक एकता पौडेलले निर्देशन गरेको फिल्म ‘हर्ष’ को फर्स्टलुक पोस्टर सोमबार सार्वजनिक गरिएको छ। दुई फरक पोस्टर सार्वजनिक गरिएका मध्ये एकमा अभिनेता खगेन्द्र लामिछाने, वर्षा राउत र शर्मिला मल्ललाई हर्षित मुद्रामा प्रस्तुत गरिएको छ भने सन्तोष पन्तलाई असन्तुष्ट भावमा देखाइएको छ। यस पोस्टरमा खगेन्द्र र वर्षा छोरासँग रमाइरहेका छन्, जसमा बालकलाकार साइमन वादीले अभिनय गरेका छन्। दोस्रो पोस्टरमा भने पारिवारिक रमाइलो माहोल, गीत-नृत्यको दृश्यसहित प्रस्तुत गरिएको छ, जहाँ नीर शाहलाई गम्भीर भावमा देखाइएको छ।

फिल्मले पारिवारिक जीवनका उतार–चढाव र उकाली–ओरालीलाई कथा मार्फत चित्रण गर्ने निर्देशक पौडेलले बताएकी छन्। न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेकी उनले आफ्ना दिवंगत मामा निर्देशक शिव रेग्मीको विरासतलाई समातेको उल्लेख गरेकी छन्। सम्पूर्ण छायांकन चितवनमा गरिएको फिल्म अहिले पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा पुगेको छ। फिल्म मंसिर १२ गतेदेखि प्रदर्शनमा आउने तय गरिएको छ।

अष्टलक्ष्मी प्रोडक्सन्स र ई-प्राइम मुभिजको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, विशाल पहाडी, माओत्से गुरुङलगायतका कलाकारको अभिनय रहनेछ। फिल्ममा आलोक शुक्लाको छायांकन, समीर/हिमाल, वसन्त सापकोटा, एलिश कार्कीको संगीत र गोविन्द शाहीको काफिया फिल्मस्ले वितरणको जिम्मा लिएको छ। डिजिटल अधिकार भने बुढासुब्बा डिजिटलले खरिद गरिसकेको छ।

For More videos Log on to Mazzako TV