नयाँ जोडीको धमाकेदार उपस्थिति सहित ‘भो नबोलाउ मलाई’ भिडियो सार्वजनिक
नयाँ जोडीको धमाकेदार उपस्थिति सहित ‘भो नबोलाउ मलाई’ भिडियो सार्वजनिक गरिएको छ। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्य रहेको कार्यक्रममा गीत सुनेपछि मदनकृष्णले गायक तथा संगीतकार सफल शेरचनको स्वर, शब्द र संगीतको खुलेर प्रशंसा गर्दै यस गीतले दर्शक–श्रोतालाई मन जित्ने विश्वास व्यक्त गरे।

दिपा शाक्य श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा अभिनेता आशिर्वाद क्षेत्री र अभिनेत्री सनिशा भट्टराईको जोडी प्रस्तुत गरिएको छ। भिडियोमा उनीहरूको केमेष्ट्री निकै आकर्षक देखिएको छ, जसले दर्शकको ध्यान खिच्ने निश्चित देखिन्छ। भिडियो रिलिज कार्यक्रममा सहभागी भएकी सनिशाले पनि सह-अभिनेता क्षेत्रीको खुलेर प्रशंसा गरिन्। उनले क्षेत्रीको अभिनय क्षमताको तारिफ गर्दै भविष्यमा अझ धेरै प्रोजेक्टमा संगै काम गर्ने इच्छा व्यक्त गरिन्।

गीतमा बाबुल गिरीले एरेञ्ज गरेका छन् भने राजेश शाहले मिक्सिङ/मास्टरिङ गरेका हुन्। यस गीतको छायांकन उत्तम हुमागाईंले गरेका हुन् भने मेकअप डिपा पौडेल, रंग संयोजन प्रकाश मानन्धरले गरेका छन्। प्रोडक्सन म्यानेजरको रूपमा दिपेन गौतम ‘माइकल’ रहेका छन्। एसएस प्रोडक्सन लण्डनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको यो गीतलाई छिट्टै स्पोटिफाइ, टिकटक, रिसो, एप्पल म्युजिक, जिओ सावन र अमेजन प्राइम म्युजिकजस्ता अन्तर्राष्ट्रिय प्लाटफर्ममा पनि उपलब्ध गराइने जानकारी दिइएको छ।








