मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले निर्देशन गर्ने बहुप्रतिक्षित चलचित्र ‘गोबर गणेश’ माघ १ गतेदेखि प्रदर्शनमा आउने भएको छ। ‘मेरी बास्सै’मार्फत दर्शकमाझ चिनिएका उनले यसअघि ‘हल्का रमाइलो’ र ‘जुठे’ टेलिचलचित्र निर्देशन गरेका थिए। पहिलोपटक फिचर फिल्म निर्देशनमा उत्रिएका उनले यस चलचित्रलाई बल्छी धुर्बे फिल्म्सको ब्यानरमा निर्माण गर्दैछन्। चलचित्रमा वर्षा सिवाकोटी, मरिचमान श्रेष्ठ, विनोद न्यौपाने, पदम तामाङ, विल्सन विक्रम राई, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, राजु याक्छा, रामप्रसाद खनाल, सन्तोष बानिया, माओत्से गुरुङलगायत कलाकारको अभिनय रहनेछ।

काठमाडौंको म्हेपी मन्दिरमा आज चलचित्रको भव्य शुभमुहूर्त गरिएको छ। शुभमुहूर्तमा निर्देशक मरिचमान श्रेष्ठसहित अधिकांश कलाकारहरूको उपस्थिति रहेको थियो। क्यामेरा पूजा गर्दै सुरुआत गरिएको कार्यक्रममा **माग्ने बुढा (केदार घिमिरे)**ले नरिवल फोडे भने कलाकार रवि गिरीले क्लयाप हानेर औपचारिक रुपमा सट लिइएको थियो। सोही अवसरमा निर्देशक श्रेष्ठले दर्शकको माया र साथले नै आफूहरूलाई प्रेरित गर्ने विश्वास व्यक्त गरे।

शुभमुहूर्तसँगै चलचित्रको छायांकन पनि आजैबाट सुरु भएको छ। काठमाडौंबाट सुरु भएको छायांकन पोखरालगायतका स्थानमा निरन्तर हुनेछ भने करिब ३५ दिनमा सम्पन्न गर्ने योजना निर्देशक श्रेष्ठले बताए। चलचित्रमा तारानाथ न्यौपाने (चिफ एडी), योगेश काजी शाह (बीजीएम), शंकर पाण्डे (प्रोडक्सन), शिवराम श्रेष्ठ (डीओपी) र विपिन मल्ल (सम्पादन) रहेका छन्। चलचित्रको पब्लिसिटी डिजाइन टौवा स्टुडियो, डिजिटल पार्टनर ओएसआर डिजिटल र वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछन्।

For More videos Log on to Mazzako TV