गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’मा आधारित नयाँ सिनेमाको औपचारिक वर्कसप आइतबारदेखि सुरु भएको छ। निर्माण पक्षले सिनेमालाई उत्कृष्ट बनाउन मुख्य कलाकारहरूलाई एकै ठाउँमा भेला पारेर वर्कसप थालेको हो। वर्कसपमा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारी र रेणु न्यौपाने सहभागी छन्। उनीहरू आफ्नो चरित्रलाई थप जीवन्त बनाउन अभ्यासरत छन्।

सिनेमाको निर्देशन लक्ष्मण सुनारले गर्दैछन् भने निर्माता सुशील पोखरेल र लेखक सुशील देवकोटा पनि वर्कसपमा सक्रिय छन्। गीतका शब्द सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतले दिनेछन् भने संगीत शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुतले तयार पार्नेछन्। वरिष्ठ संगीतकार शान्ति ठटाललाई दुई महिनाअघि नै संगीत प्रयोगको अनुमति लिइएको निर्माण पक्षले जनाएको छ।

‘परालको आगो’को छायांकन आगामी भदौ २६ गतेदेखि म्याग्दीका रमणीय स्थानहरूमा सुरु हुनेछ। संकल्प भुजेलले छायांकन गर्ने यस सिनेमामा रामजी लामिछाने (नृत्य निर्देशन), सुलक्षण भारती (स्क्रिप्ट डक्टोरिङ), सुशील देवकोटा (लेखन) र नगेन्द्र घिमिरे (प्रोडक्सन म्यानेजर) रहेका छन्। स्मरणीय छ, मैनालीको ‘नासो’ कथासंग्रहमा समावेश ‘परालको आगो’ कथालाई ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले पनि सिनेमा बनाएका थिए, जुन व्यावसायिक रूपमा सफल भएको थियो। नयाँ संस्करणको प्रदर्शन मिति भने अझै घोषणा भएको छैन।

For More videos Log on to Mazzako TV