बन्ने भयो फिल्म ‘कहाँ गयौ तिमी…’
चलचित्र ‘कहाँ गयौ तिमी…’ निर्माणको घोषणा गरिएको छ। सहारा फिल्म्सको प्रस्तुति रहने यो चलचित्र शनिबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर टाइटलसहित सार्वजनिक गरिएको हो। फिरोज तिमलसेनाले निर्देशन गर्ने चलचित्र लभस्टोरी जनरामा रहने भए पनि निर्माणपक्षले कथाको विस्तृत जानकारी भने खुलाएको छैन। टाइटल अनाउन्स्मेन्ट पोस्टरमा देखिएको कालो बादल, एक्लो घर र रूखले छोडिएको मायाको वरिपरि कथा हुने संकेत दिएको छ। पोस्टरमा प्रयोग भएको कालो र रातो रंगले शंकाबीचको प्रेम, आशा, विछोड र मिलनको कथा चलचित्रले समेट्ने अनुमान लगाइएको छ।

चलचित्रको कथा जीवन आचार्यले लेखेका हुन् भने संगीत प्रकाश नेपालीले तयार पार्नेछन्। निर्देशक फिरोज टेलिभिजन होस्टिङबाट सर्जकको रूपमा परिचित छन्। उनले नेपाल आइडल सिजन–१ को रियालिटी प्रोडुसर र एपिसोड डिरेक्टरको काम गरेका थिए। भ्वाइस अफ नेपालका फाउन्डर, क्रिएटिभ हेड र चिफ एडिलको अनुभवसहित उनी अभिनेता पनि हुन्। ‘दर्पण छाया–२’मा अभिनय गरेका उनले गायकको रूपमा पनि काम गरेका छन्।

फिरोजले सामाजिक सञ्जालमार्फत चलचित्र घोषणा गर्दै लेखेका छन्, “शब्द र भावना भनेको घरमा काम लाग्छ भनेर जतन गरी राखेको सियो जस्तो रहेछ, चाहिने बेला कहिले फेला पर्दैन। आज सिनेमा निर्देशनमार्फत नयाँ यात्राको सुरुवात गर्दा खुशी र जिम्मेवारी दुवै महसुस भएको छ। सम्पूर्ण टिमप्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनमा फिल्मबारे थप जानकारी दिने प्रतिज्ञा गर्दछु।” चलचित्रमा को–को कलाकार रहने, निर्माता र अन्य टिमबारे जानकारी भने चाँडै सार्वजनिक गरिने निर्देशकले बताएका छन्।
For More videos Log on to Mazzako TV







