‘अभिमन्यु : च्याप्टर–१’को ‘लड्की गोरी
चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को नयाँ गीत ‘लड्की गोरी’ सार्वजनिक भएको छ। गीत नेपाली भाषामा तयार भए पनि यसमा भोजपुरी लवजको प्रयोग गरिएको छ। शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटी र प्रेरणा सिंहले दिएका छन् भने संगीत संयोजन विषम आचार्यले गरेका छन्। आइटम डान्स जुना सुन्दासको रहेको गीतको कोरियोग्राफी रोहन विश्वकर्माले गरेका हुन्। गीतमा युवायुवतीको आकर्षण र चाहलाई देखाइएको छ भने नृत्य र शैली पनि भोजपुरी गीतसँग मेल खाने खालको छ।

चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते रिलिज हुँदैछ भने हिन्दी भर्सन असोज ६ (सेप्टेम्बर २२) मा वल्र्डवाइड रिलिज हुने निर्माण पक्षले जानकारी दिएको छ। चलचित्रले पैसाको प्रलोभनमा फस्ने र त्यसबाट उम्किन खोज्ने व्यक्तिको संघर्षलाई कथाको मुख्य विषय बनाएको छ। तराई क्षेत्रको पृष्ठभूमिमा आधारित कथालाई ध्यानमा राखेर भोजपुरी शैलीको गीत तयार पारिएको बताइएको छ।

चलचित्रमा मुख्य भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला छन्। यसलाई सुशान्त गौतमले निर्देशन गरेका छन्, यो उनको डेब्यु निर्देशन हो। निर्मातामा विनोद पौडेल र गुञ्जन गिरी रहेका छन् भने सह–निर्माता रमेश चौलागाई र हरि श्रेष्ठ छन्। चलचित्रको क्रिएटिभ निर्देशन मदन थापाले गरेका छन् भने सम्पादन मदन घिमिरे, रंग सम्योजन सुप्रिम पराजुली, भिएफएक्स मनोज श्रेष्ठ र डिओपी शरद महतो रहेका छन्।








