‘जेरी अन टप’को गीत छायांकन जयपुरमा
तिहारको अवसर पारेर आगामी असोज ३१ गते प्रदर्शनमा आउने नेपाली फिल्म ‘जेरी अन टप’को गीत छायांकनका लागि निर्माण टिम भारतको जयपुर पुगेको छ। निर्माता सरोज न्यौपाने, निर्देशक सुयोग गुरुङ, अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्मासहितको टिम यतिबेला राजस्थानमा गीत फिल्मिङ्गमा व्यस्त छ। कथाको मागअनुसार आवश्यक दृश्य छायांकन गर्न भारत पुगेको निर्माता न्यौपानेले बताएका छन्। प्राप्त तस्विरमा अनमोल र आँचल रोमान्टिक अवतारमा देखिएका छन्। एक गीतको छायांकन सकेर शनिबार टिम नेपाल फर्किने तयारीमा छ।

अनन्या फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको यस फिल्ममा अनमोल र आँचलसँगै जसिता गुरुङ, चर्चित हास्य अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’, भुवन केसी, सुरक्षा पन्त र उषा खड्कीको अभिनय छ। कथा हेमराज बिसीको रहेको फिल्ममा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ। कार्यकारी निर्माता अनुराधा गिरी र इश्वर श्रेष्ठ, एसोसिएट निर्माता नविन घिमिरे, विवेक थापा र भविष्य खड्का रहेका छन्। हङकङको एलजी एसोसिएट्सले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार (अष्ट्रेलियाबाहेक) खरिद गरेको छ भने नेपालमा रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण अधिकार लिएका छन्।










