अलटाइम ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’बाट दर्शकमाझ उच्च लोकप्रियता कमाएका अभिनेता विजय बरालको नयाँ चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ आगामी भदौ ६ गतेबाट देशभर रिलिज हुँदैछ। गाउँले परिवेशमा आधारित यो चलचित्र परिवारका सदस्यबीचको इमोस्नल कथा प्रस्तुत गर्ने निर्देशक हिमाल न्यौपानेको भनाइ छ। ‘पूर्ण बहादुरको सारङ्गी’मा विजयको अभिनयलाई जस्तै यस पटक पनि दर्शकले मन पराउने विश्वास अभिनेता र निर्माण पक्षले व्यक्त गरेका छन्।

पेपरक्लिपको ब्यानरमा बनेको यस चलचित्रमा विजय बरालसँगै मिरुना मगर, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय रहेको छ। असोसिएट निर्देशकमा ‘प्रेमगीत ३’का अभिनेता मनिष राउत रहेका छन् भने निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। संगीतमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको योगदान छ।

‘पूर्ण बहादुरको सारङ्गी’ नेपालमा हालसम्मकै सर्वाधिक ग्रस कलेक्शन गर्ने चलचित्र बनेको थियो, जसले करिब पौने एक अर्बको व्यापार गरेको थियो। त्यसपछि विजय बराल मुख्य भूमिकामा रहेको यो पहिलो चलचित्र हो। ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’लाई गोविन्द शाहीको काफिया फिल्मसले वितरण गर्ने भएको छ। निर्देशक न्यौपानेका अनुसार, यो चलचित्रको कथा, पात्र र भावनात्मक प्रस्तुतीले दर्शकमाझ नयाँ अनुभव दिनेछ।

For More videos Log on to Mazzako TV