‘मैझारो’को छायांकन अन्तिम चरणमा
साउनको पहिलो हप्ताबाट इलाममा छायांकन सुरु गरिएको फिल्म ‘मैझारो’ अहिले अन्तिम चरणमा पुगेको छ। निर्देशक विल्सन विक्रम राईको निर्देशनमा तयार भैरहेको यस फिल्मले पूर्वी पहाडको प्राकृतिक सौन्दर्य र मानवीय सम्बन्धको आत्मीयतालाई उजागर गर्ने लक्ष्य लिएको छ। इलामका देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका रमणीय स्थलहरूमा गरिएको छायांकनले दर्शकलाई फरक स्वाद र अनुभूति दिने निर्देशक राईको दाबी छ। कथा र पटकथा पनि उनले स्वयं तयार पारेका हुन्।

माैलिक प्रेम कथामा आधारित यस फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभय राज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय समावेश छ। विविध पात्र र भावनात्मक कथावस्तुले फिल्मलाई मनोरञ्जनका साथै सांस्कृतिक रंग दिने अपेक्षा गरिएको छ।

‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भैरहेको ‘मैझारो’मा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहेको छ भने गायनमा राजेश पायल राई, झुमा लिम्बू, मेलिना राई र अस्मिता अधिकारीको स्वर समावेश छ। सौरभ लामाले छायांकन गरेको फिल्मको वितरण आरआर फिल्मले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ।
For More videos Log on to Mazzako TV







