‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा विजयको संघर्ष
चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को ट्रेलर जनै पूर्णिमाको अवसर पारेर काठमाडौंमा सार्वजनिक गरिएको छ। ट्रेलरले आर्थिक अभाव, सपना पुरा गर्ने संघर्ष र मुख्य पात्र विजय बरालले कोरिया जान चाहँदा भोगेको कठिनाइ, काठमाडौंमा ठगिएर परेका घटनाहरू र बाध्यात्मक अवस्थालाई प्रभावशाली रुपमा प्रस्तुत गरेको छ। यसले आम नेपाली समाजको निम्नमध्यम वर्गीय परिवारको यथार्थ चित्रण गरेको छ, जसले दर्शकको मन जित्ने विश्वास निर्माणपक्षलाई छ।

चलचित्रको निर्देशन हिमाल न्यौपानेले गरेका छन् भने ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत असोसियट निर्देशक हुन्। विजय बरालसँगै मिरुना मगर, केकी अधिकारी, सुशांक मैनाली लगायतका कलाकारको अभिनय रहेको यस फिल्ममा पारिवारिक र सामाजिक भावनालाई गहिरो रूपमा समेटिएको छ। तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् भने नवीन गुरुङ र कृष्ण परियारले सिनेमेटोग्राफी सम्भालेका छन्।

पेपर्क्लिपको ब्यानरमा निर्माण भएको यो चलचित्र भदौ ६ गते रिलिज हुँदैछ। कमल न्यौपाने र विमल न्यौपाने निर्माता रहेका चलचित्रको संगीत थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीले तयार पारेका छन्। चलचित्रको वितरण काफिया फिल्मसले गर्नेछ। यसले ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउने पहिलो चलचित्रको रुपमा पनि चिनिनेछ।








