‘पार्वती’का दुई फरक मूडका पोस्टर सार्वजनिक
निता ढुंगाना अधिकारीको निर्देशनमा बन्न लागेको नेपाली फिल्म ‘पार्वती’को दुई फरक मूडका पोस्टर सार्वजनिक भएका छन् । निता फिल्म्सको प्रस्तुति यो फिल्म आगामी माघ १ गते प्रदर्शनमा आउने तयारीमा छ । पहिलो पोस्टरमा ‘पार्वती’ पहेँलो छाता, सिठी र पानीको बोतल बोकेर गम्भीर मुद्रा लिएर देखिएकी छिन्, जसले उनको जीवनका चुनौती र भित्री संवेदनशीलता झल्काउँछ । दोस्रो पोस्टरमा उनी गाउँले पोशाकमा हल्का मुस्कान र लजालु अदा सहित प्रस्तुत भएकी छन्, जसले बालपनको रमाइलो र जीवनप्रतिको सहज दृष्टिकोणलाई देखाउँछ ।

फिल्मको कथा नितैले लेखेकी हुन् भने पटकथा र संवाद शिवम् अधिकारीले तयार पारेका छन् । छायांकन कविर लाल र शाहिद लालले गर्नेछन् भने निर्माण टिममा सानिजा अधिकारी, नरसरी अधिकारी र पवन ढुंगाना छन् । ‘पार्वती’ हास्य, भावना र सामाजिक सन्देशले भरिपूर्ण फिल्म हो, जसमा एक साधारण पात्रको नजरबाट जीवनका रंग, सम्बन्धका मिठास र संघर्षका भाव प्रस्तुत गरिने निर्माता बताउँछन् ।

निर्देशक निताले केही दिनमा कलाकार र थप प्राविधिक टोलीको जानकारी सार्वजनिक गर्ने बताएकी छिन् । छायांकन असोजदेखि सुरु हुने यो फिल्म उपत्यकामा रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले वितरण गर्नेछन् भने उपत्यका बाहिर एफडी कम्पनीले वितरण जिम्मा लिएको छ । ‘पार्वती’ले दर्शकलाई सरल तर गहिरो कथा मार्फत जीवनका विभिन्न पाटाहरू बुझाउने अपेक्षा गरिएको छ ।
For More videos Log on to Mazzako TV







