फिल्म ‘हरिबहादुरको जुत्ता’ को नयाँ पोस्टर आज सार्वजनिक गरिएको छ। पोस्टरमा फिल्मका तीन प्रमुख कलाकार हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का लाई प्रस्तुत गरिएको छ, जसले कथाको मूल भावलाई दर्शकसमक्ष झल्काउने प्रयास गरेको देखिन्छ।

हरिवंश आचार्य आफ्नो चर्चित ‘हरिबहादुर’ अवतारमै देखिएका छन्, जुन चरित्र अघिल्लो पुस्तादेखि नै अत्यन्त लोकप्रिय रहँदै आएको हो। प्रकाश सपुत केही आक्रोशित मुद्रामा देखिन्छन् भने स्वस्तिमा खड्का हल्का मुस्कानसहित सौम्य र आत्मविश्वासी भूमिकामा प्रस्तुत भएकी छन्। यी तीन पात्रहरूको भावभंगिमा हेर्दा फिल्म पारिवारिक, सामाजिक र हास्य रसमा आधारित हुने अनुमान लगाउन सकिन्छ। पोस्टर शान थापा र विजय वस्यालको संयुक्त परिकल्पनामा तयार पारिएको हो।

फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका अनुभवी तथा लोकप्रिय कलाकारहरूको अभिनय रहेको छ।

दिपेन्द्र के. खनाल निर्देशित यो फिल्म दशैंको फूलपाती, अर्थात् असोज १३ गते देशभर प्रदर्शनमा आउन लागेको हो।
एसएम मोशन पिक्चर्स को ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन्।

फिल्मको छायांकन कृष्णबहादुर थापा ले गरेका हुन् भने सम्पादन नकुल खड्का को रहेको छ। संगीत संयोजनमा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुत छन्। गीतहरूमा स्वर दिएका छन् — आशिष अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईंले।

For More videos Log on to Mazzako TV