बहुप्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’ले आफ्नो प्रचार अभियानलाई झनै तीव्र बनाउँदै बुधबार चार प्रमुख पात्रहरूको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ। निर्देशक तथा कलाकार सन्तोष सेन, अभिनेता अर्पण थापा, अभिनेत्री ऋचा शर्मा र अनुभवी अभिनेता हेमन्त बुढाथोकीको दमदार लुक्स समेटिएका पोस्टरहरूले चलचित्रप्रति दर्शकको उत्साह झनै बढाएको छ। टिजर सार्वजनिक हुनुभन्दा अगावै कथा भित्र गहिरो प्रभाव पार्ने यी चार अनुहारहरूलाई पहिलोपटक दर्शकसामु प्रस्तुत गरिएको हो। निर्देशक सेनले यी पोस्टरलाई केवल प्रचारको माध्यम नभएर समाजका वास्तविक पात्रको आवाज भएको बताएका छन्।

फिल्ममा अभिनेता अर्पण थापा विद्रोह, पीडा र सत्यता बोल्ने आँखाको पात्र बनेका छन् भने ऋचा शर्मा समाजको असल प्रतिनिधित्व गर्ने एक सशक्त महिला पात्रको रूपमा देखिनेछिन्। सयौँ फिल्ममा खलनायकको रूपमा गहिरो छवि बनाइसकेका हेमन्त बुढाथोकी यस पटक ‘कथा नै काँप्ने’ भूमिकामा प्रस्तुत हुँदैछन्। निर्देशक सेन आफैं पनि चलचित्रमा एक शक्तिशाली पात्रको रूपमा देखा पर्नेछन्, जसको चरित्रले समाजलाई परिभाषा दिने गहिरो प्रभाव छोड्नेछ।

यसअघि अभिनेता समीर भट्ट र अभिनेत्री कविता रायको क्यारेक्टर पोस्टर सार्वजनिक भइसकेको छ भने अभिनेता सौगात मल्लको रहस्यमय लुक्सले दर्शकमाझ व्यापक चर्चा बटुलिसकेको छ। प्रचारको क्रममा निर्माताले ‘बलिदान ब्यानर’ अभियान मार्फत देशभर विशाल ब्यानरहरू राखी प्रचारलाई नयाँ उचाइमा पुर्‍याएका छन्। ‘आसुसेन फिल्म्स् प्रा.लि.’को प्रस्तुति रहेको चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्। सशक्त कथा, फरक प्रस्तुति र भावनात्मक गहिराइसहितको ‘बलिदान’ले नेपाली सिनेमालाई विदेशी चलचित्रहरूको भिडमा अलग पहिचान दिने निर्देशक सेनको विश्वास छ।

For More videos Log on to Mazzako TV