‘परिवर्तन’को छायाङ्कन कार्य सम्पन्न, अब गीतको छायाङ्कन बाँकी
निर्माता दीपक सिवाकोटीद्वारा निर्माणाधीन नेपाली चलचित्र ‘परिवर्तन’को छायाङ्कन कार्य ५६ दिनमा पूरा गरिएको छ। निर्देशक विजय केरुङको निर्देशनमा तयार भइरहेको चलचित्रका दुई गीतबाहेक सम्पूर्ण दृश्यहरूको छायाङ्कन सोमबार सम्पन्न भएको हो। अब एक राष्ट्रिय गीत र एक लोकगीतको मात्र छायाङ्कन बाँकी रहेको निर्माण पक्षले जानकारी दिएको छ। झापाको बुद्धशान्ति, कचनकवल, भद्रपुर, अर्जुनधारा, कन्काईमाई, बिर्तामोड, मेचीनगरदेखि विराटनगरसम्म पूर्वी नेपालका विभिन्न स्थानमा छायाङ्कन गरिएको चलचित्रमा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइली प्रमुख भूमिकामा छन्।

‘दिब्यासी फिल्म्स प्रा.लि.’को ब्यानरमा निर्माण भएको यो चलचित्रमा सुशील र अञ्जनासहित गौतम तिवारी सूर्यवंशी, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, हेमन्त बुढाथोकी, आएशा कार्कीलगायत दर्जनौँ कलाकारको अभिनय रहेको छ। चलचित्रले नेपालको सिमाना सुरक्षा, भ्रष्टाचार, तथा पीडित जनताको कथा प्रस्तुत गर्नेछ। दीपक सिवाकोटीले कथा लेखेका चलचित्रको पटकथा शिवम अधिकारीले तयार पारेका हुन् भने छायाङ्कन शिव ढकाल, सम्पादन बन्दे प्रसाद र द्वन्द्व निर्देशन श्री श्रेष्ठको रहेको छ। निर्माता सिवाकोटीका अनुसार अब बाँकी गीतको छायाङ्कन सकिएपछि पोस्ट–प्रोडक्सन कार्य थालिनेछ र चलचित्र यही वर्ष प्रदर्शनमा ल्याउने तयारी गरिएको छ।









