चलचित्र ‘क्याप्टेन साब’को भव्य सेट तयार गरेर छायांकन काठमाडौंको तीनकुनेमा सुरु गरिएको छ । विसं २०३० र ४० को दशकको काठमाडौं झल्काउने गरी तयार गरिएको यो सेटमा त्यतिबेलाका पुराना सेता घर, सडकमा देखिने पुराना सवारीसाधन, खर्पन, डोको र त्यही समयको पहिरनमा रहेका पात्रहरू देखिन्छन् । निर्देशक दीपेन्द्र के खनालका अनुसार सहरको रूप बदलिनुअघि काठमाडौं कस्तो थियो भन्ने भान दिलाउने उद्देश्यले सेट, कस्ट्युम र साजसज्जामा विशेष ध्यान दिइएको छ ।

चलचित्र ‘क्याप्टेन साब’ पाइलट, व्यवसायी तथा सञ्चार उद्यमी रामेश्वर थापाको जीवनमा आधारित बायोपिक हो । गत साउन १० गतेबाट छायांकन सुरु भएको यो चलचित्र काठमाडौंसँगै काभ्रेको धुमखर्क, बेथानचोक, चितवन र वीरगञ्जमा छायांकन गरिने छ । चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन् भने चलचित्रको कथा निर्देशक दीपेन्द्र के खनालले लेखेका हुन् । छायांकन कृष्णबहादुर थापाले गरिरहेका छन् ।

पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको चलचित्रमा निर्माता दीपेन्द्र खनालसँगै करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन् । कार्यकारी निर्मातामा सिर्जना नापित छिन् भने मुख्य सहायक निर्देशकमा सौगात बस्नेत छन् । पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनले, प्रोडक्सन डिजाइन एकी थेक्पाले र प्रोडक्सन म्यानेजरमा रोहित राज गौतम तथा बिष्णु बुढाथोकी रहेका छन् । निर्देशक खनालले सीमित बजेटमै यथार्थपरक समयचित्र प्रस्तुत गर्ने प्रयास भइरहेको बताएका छन् ।

For More videos Log on to Mazzako TV