ब्लकबस्टर सिनेमा जारीको सिक्वेल ‘जारी २ : सङ अफ च्याब्रुङ’ ले तीन आकर्षक पोस्टरसँगै आफ्नो रिलिज मिति असोज ३ गते तय गरेको छ । कवि तथा निर्देशक उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार भइरहेको यस सिनेमाको पोस्टरहरूमा लिम्बु समुदायको संस्कृति र च्याब्रुङ बाजाको सेरोफेरोमा कथा बुनिएको संकेत गरिएको छ । पहिलो पोस्टरमा प्रमुख कलाकार दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल लगायत एक बालिका र गाउँले परिवेश देखाइएको छ ।

बाँकी दुई पोस्टरमा दयाहाङ र मिरुनालाई विशेष रुपमा प्रस्तुत गरिएको छ । एउटा पोस्टरमा दयाहाङ मस्तीका साथ च्याब्रुङ बजाइरहेका छन् भने मिरुना परम्परागत लिम्बु पहिरनमा हर्षित मुद्रामा देखिन्छिन् । अर्को पोस्टरमा उनीहरूलाई क्यामरातर्फ हाँसिरहेको अवस्थामा देख्न सकिन्छ । यी दृश्यहरूले फिल्ममा सांस्कृतिक जरा, सम्बन्धको गहिराइ र स्थानिय जीवनशैलीको सौन्दर्य झल्किएको देखिन्छ । जारी २ मा पनि दया र मिरुनाको जोडीलाई निरन्तरता दिइएको छ, जसले पहिलो भागमा दर्शकमाझ लोकप्रियता कमाएको थियो ।

रामबाबु गुरुङको निर्माणमा बनेको यस सिनेमामा दया र मिरुनासँगै ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङलेखुको अभिनय रहेको छ । पहिलो भागले १७ करोडभन्दा बढीको व्यापार गर्दै वर्षकै ब्लकबस्टर बनेको थियो । यसैले ‘जारी २’ प्रति दर्शकको उच्च अपेक्षा रहेको छ । दयाहाङ र मिरुनाले यसअघि जारी र साइँलीमा समेत सँगै काम गरिसकेका छन्, जसको केमेस्ट्री फेरि पर्दामा देख्न पाउँदा दर्शक उत्साहित छन् ।

For More videos Log on to Mazzako TV