‘सुख दुःख’मा मिथिला शर्मा अनुबन्ध
अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्ने फिल्म ‘सुख दुःख’मा वरिष्ठ अभिनेत्री मिथिला शर्मा अनुबन्धित भएकी छन्। आइतबार निर्माण टिम र शर्माबीच आधिकारिक सम्झौता भएको हो। लामो समयपछि पर्दामा फर्किन लागेकी शर्मालाई फिल्ममा समावेश गर्न पाएकोमा निर्देशक अधिकारी निकै उत्साहित देखिइन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनिन्, “मिथिला दिदीबिना ‘सुख दुःख’ अधुरो जस्तै लाग्थ्यो, अब फिल्म पूर्णतर्फ अघि बढ्दैछ।”

यो फिल्ममार्फत नीता ढुङ्गाना पहिलो पटक निर्देशनमा प्रवेश गर्दैछिन्। उनले फिल्मलाई विशेष बनाउनका लागि भारतीय चर्चित सिनेम्याटोग्राफर कवीरलाल र शाहिदलाललाई डिओपीको रूपमा अनुबन्ध गरिसकेकी छन्। यद्यपि फिल्ममा समावेश हुने अन्य मुख्य कलाकारको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन। निर्देशक ढुङ्गानाले कलाकार छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको र केही साताभित्र सम्पूर्ण टिमको नाम सार्वजनिक गरिने जानकारी दिएकी छन्।

‘नीता फिल्म्स’को ब्यानरमा निर्माण हुँदै गरेको ‘सुख दुःख’को निर्माण व्यवस्थापन शंकर पाण्डेले सम्हाल्नेछन्। आगामी वर्षको दसैंको फूलपातीको अवसर पारेर फिल्म रिलिज गर्ने योजना निर्माण टिमले बनाएको छ। फिल्मको वितरण अधिकार उपत्यका बाहिर एफडी कम्पनीले तथा उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले लिएर फिल्मप्रति लगानीकर्ता र वितरक दुवैको विश्वास झल्किएको छ। सामाजिक, पारिवारिक र भावनात्मक कथामा आधारित यो फिल्मप्रति दर्शकको उत्साह चुलिँदै गएको छ।
For More videos Log on to Mazzako TV







