‘मोहर’को ट्रेलरले मच्चायो धुम: दर्शकबाट बाबाल प्रतिक्रिया
फिल्म ‘मोहर’को ट्रेलर सार्वजनिक भएको छ, जसले दर्शकहरूबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाइरहेको छ। साउन २३ गतेदेखि प्रदर्शनमा आउन लागेको यो फिल्मले प्रेम, विछोड, सस्पेन्स, थ्रीलर र सामाजिक यथार्थलाई एकसाथ प्रस्तुत गरेको छ। ओम प्रतिकको लेखन तथा निर्देशन रहेको फिल्ममा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, लक्ष्मी गिरी, रवीन्द्र झा, सारा शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ। देउकी प्रथालाई केन्द्रमा राखेर तयार गरिएको कथाले नेपाली समाजमा व्याप्त परम्परा र पीडालाई उजागर गरेको छ।

फिल्मको ट्रेलर सार्वजनिक भएको २४ घन्टामै युट्युबमा साढे ४ लाखभन्दा बढी दर्शकले हेरेका छन्। नेपालमा युट्युबको ट्रेन्डिङ दोस्रो स्थानमा रहेको ट्रेलर हाल मलेसिया, जापान, यूएई र कतारमा पनि ट्रेन्डिङमा पुगेको छ। दर्शकहरूले फिल्मको कथा, अभिनय, संगीत र संवादको खुलेर प्रशंसा गरिरहेका छन्। टिकटकमा समेत ट्रेलरका दृश्यहरू भाइरल बन्दै गएका छन्, जसले फिल्मप्रतिको चासो थप बढाएको छ।

फिल्मको प्राविधिक पक्ष समेत सशक्त देखिएको छ। दीपेन बस्न्यातको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीतले ट्रेलरलाई कलात्मक बनाएको छ। ट्रेलरले दर्शकको मन जित्न सफल भइसकेकोले फिल्मले बक्स अफिसमा पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। देउकी प्रथा, प्रेम र बदलाको भावनाले भरिएको ‘मोहर’ समकालीन नेपाली सिनेमामा उल्लेखनीय बन्न सक्ने देखिन्छ








