आगामी साउन २३ गते जनैपूर्णिमाको अवसरमा प्रदर्शनमा आउने नेपाली चलचित्र ‘सिटामोल’ को ट्रेलर बुधबार सार्वजनिक भएको छ। करिब ३ मिनेट २० सेकेण्ड लामो ट्रेलरले नेपाली समाजमा व्याप्त पारिवारिक झमेलाहरू, गरिबी, बेरोजगारी र सरकारी लापरवाहीलाई हास्य र व्यङ्ग्यका साथ प्रस्तुत गरेको छ। गाउँले परिवेशमा आधारित चलचित्रले सामान्य समस्याहरूमा मानिसहरूले भोग्ने कठिनाइहरू देखाउँदै दर्शकलाई हँसाउनसाथै सोच्न बाध्य पार्ने सामाजिक सन्देश दिन खोजेको छ। ट्रेलरमा सौगात मल्ल र बेनिशा हमालको दमदार अभिनयले थप आकर्षण बढाएको छ।

निर्देशक राज बहादुर सानेले सामाजिक व्यङ्ग्य शैलीमा चलचित्रलाई तयार पार्नुभएको छ भने सम्पादन, सिनेमाटोग्राफी र कोरियोग्राफीले ग्रामीण परिवेशलाई प्रभावकारी रुपमा प्रस्तुत गरेको छ। चलचित्रमा सौगात मल्ल, बेनिशा हमालसँगै श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की लगायतका कलाकारहरूको अभिनय छ। श्री कृष्ण र जानुकाले यो चलचित्रमार्फत नेपाली रजतपटमा डेब्यु गरेका हुन्।

तुल्सी देवी फिल्म प्राली र जुनतारा फिल्मस्को सहकार्यमा बनेको ‘सिटामोल’ को कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्। चलचित्रको संगीत बाबुल गिरीले दिएका छन् भने सम्पादन बन्दे प्रसादले गरेका छन्। चलचित्रको छायांकन दिव्य सुवेदीले गरेका हुन्। ‘सिटामोल’ ले नेपाली समाजका विडम्बना र भ्रष्ट प्रणालीप्रति तिखो कटाक्ष गर्दै मनोरञ्जनसँगै गहिरो सामाजिक सन्देश पनि दिने विश्वास निर्माण टिमले जनाएको छ।

For More videos Log on to Mazzako TV