‘परिवार’ चलचित्र निर्माणको घोषणा, टिजर पोस्टरमै कथा बोल्ने संकेत
नेपाली सिनेमा ‘परिवार’ को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ। राजधानीमा बुधबार आयोजित शुभमुहूर्त कार्यक्रममा निर्माणपक्षले चलचित्र निर्माणको औपचारिक सुरुवात गर्दै छायांकनसमेत प्रारम्भ गरेको हो। चलचित्रको निर्देशन मदन थापाले गर्नेछन्, जसले यसअघि ‘बाटो: रोड टू डेथ’ निर्देशन गरेका थिए। उनले भदौ २७ गते प्रदर्शनमा आउने ‘अभिमन्यु : च्याप्टर–१’ मा क्रिएटिभ निर्देशकको रूपमा पनि काम गरेका छन्।

‘परिवार’को टाइटल र पोस्टरमै कथाको संकेत गरिएको छ। सार्वजनिक अनाउन्समेन्ट पोस्टरमा एक पुरुष, दुई महिला, एक बच्चा र साथमा कुकुर र बिरालो देखिएका छन्। यस्तो दृश्यले चलचित्रमा पारिवारिक सम्बन्धको जटिलता, सम्भवतः दुई श्रीमतीबीचको द्वन्द्व, वा असमझदारी झल्काउँछ। ‘परि’ भन्ने शब्द छुट्टै र ‘WAR’ अर्थात् ‘युद्ध’ शब्दलाई जोडेर लेखिएको टाइटलले पारिवारिक कलह र भावनात्मक द्वन्द्वको कथा संकेत गर्छ।
चलचित्रमा कलाकारको नाम सार्वजनिक नगरिएको भए पनि किरण रिजाल, रमेश साही, भिसाका विक्रम थापा र स्प्रान्जा कँडेल निर्माता रहेका छन् भने सह-निर्मातामा सन्तोष अधिकारी छन्। कथा प्रेम थापा र गणेश उपाध्यायले लेखेका हुन् भने निर्देशनसहित स्टोरी डिरेक्शन मदन थापाकै रहनेछ। चलचित्रको छायांकन निरज कँडेलले गर्नेछन्, विशेष महर्जन सिनेमेटोग्राफर, शेर शाही क्रिएटिभ डिरेक्टर, स्टाइल डिरेक्टरमा विशाखा विक्रम थापा, चिफ एडी सिर्जा भुजेल, एक्शन डिरेक्टर एनबी महर्जन रहनेछन्। लाइन प्रोड्युसर वारिस सोना र कार्यकारी निर्माता रमेशबहादुर शाही हुन्।

‘रे अफ आर्ट’ को प्रस्तुति रहेको यो चलचित्र भिसा आई फिल्म्स, साही फिल्म्स र आत्रेय प्रोडक्सन हाउसको संयुक्त उत्पादनमा निर्माण हुनेछ। अधिकांश छायांकन काठमाडौंमा हुने र केही दृश्य उपत्यका बाहिर छायांकन गरिने निर्माणपक्षले जनाएको छ।
For More videos Log on to Mazzako TV







