आगामी साउन २३ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘सिटामोल’ को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ बुधबार सार्वजनिक गरिएको छ। गीतमा मुख्य कलाकार सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मासँगै संगीतकार बाबुल गिरी पनि देखिएका छन्। गोविन्द भट्टको शब्द, बाबुल गिरीको संगीत र स्वर रहेको मर्मस्पर्शी यो गीतले दर्शक तथा श्रोताबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छ। गीतमार्फत गायक तथा संगीतकार गिरीले नेपाली रजतपटमा विशेष भूमिकामा डेब्यु गरेका हुन्।

गीत सार्वजनिक भएको केही घण्टामै सामाजिक सञ्जालहरूमा यसको भिडिओले राम्रो ट्रेन्डिङ बनाएको छ। यसअघि टिजरमा समावेश गरिएको सानो अंश नै भाइरल बनेपछि दर्शकको उत्सुकता बढेको थियो, त्यसैलाई ध्यानमा राख्दै निर्माण टिमले पूरै गीत सार्वजनिक गरेको हो। निर्माण पक्षले यो गीत र टिजरले बनाएको उत्साहले सिनेमा ‘सिटामोल’लाई थप लोकप्रिय बनाउने विश्वास व्यक्त गरेको छ। निर्देशक राज बहादुर सानेले निर्देशन गरेको यस चलचित्रले नेपाली समाजमा गहिरो रूपमा गडिएको कुसंस्कार र सामाजिक विसंगतिलाई चित्रण गर्ने उद्देश्य राखेको छ।

सिनेमामा सौगात र बेनिशासँगै श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, काजल भुजेल, पवन भट्टराई, बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ। तुल्सी देवी फिल्म प्राली र जुनतारा फिल्म्सको सहकार्यमा निर्माण भएको फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्। सिमोस सुनुवारको प्रस्तुति रहेको यस चलचित्रमा निर्माता भूगोल कार्की र विकास राज जोशी, कोरियोग्राफर कविराज गहतराज, सम्पादक बन्दे प्रसाद, साउण्ड डिजाइनर मुकेश शाह लगायत अनुभवी प्राविधिक टिमको साथ रहेको छ।

For More videos Log on to Mazzako TV