अन्तरजातीय प्रेमकथामा ‘जदौ’,भदौमा सुटिङ
नेपाली समाजमा अझै पनि गहिरो रूपमा जरा गाडेर बसेको जातीय भेदभाव र अन्तरजातीय प्रेमसम्बन्धका संघर्षहरूलाई मुख्य विषय बनाएर निर्माण हुन लागेको चलचित्र ‘जदौ’ को औपचारिक घोषणा गरिएको छ। बिहीबार राजधानीमा आयोजित विशेष कार्यक्रममा चलचित्र निर्माण टिमले ‘जदौ’ सार्वजनिक गर्दै एक सशक्त गीत वाचन गर्यो, जसको स्थायी पंक्तिले जातीय विभेदको कटु यथार्थ उजागर गरेको छ। गीत वाचनमा मुकुन भुसाल, नीति शाह, प्रभातपाल ठकुरी, विनोद न्यौपाने र सन्ध्या श्रेष्ठको दमदार प्रस्तुतिले माहोल भावुक बनाएको थियो।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कविता “मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन…” वाचन गर्दै ‘जदौ’ को टाइटल अनावरण गरे। प्रेसमिटमा काजी लिम्बू र अञ्जन शर्माको संयुक्त निर्देशनमा चलचित्र बन्ने खुलासा गरियो। भदौको पहिलो साताबाट छायांकन सुरु हुने यस चलचित्रलाई सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट ले संयुक्त रुपमा निर्माण गर्दै छन्। निर्माता बिमला भण्डारीले चलचित्रले समाजमा विद्यमान जातीय विभेदको अन्त्यतर्फ सशक्त आवाज उठाउने दाबी गरिन्।

कलाकार मुकुन भुसाल, नीति शाह, प्रभातपाल ठकुरी, विनोद न्यौपाने र नव–अभिनेत्री सन्ध्या श्रेष्ठसहित ऋचा शर्मा, अनिल सुब्बा, सिपी पुडासैनी (धतुरे) जस्ता कलाकारहरूले अभिनय गर्ने चलचित्रमा बाबुल गिरी र सरोज पोखरेलको संगीत, श्याम तामाङको छायांकन, चिरञ्जीवि भण्डारीको कला निर्देशन र मिलन श्रेष्ठको द्वन्द्व निर्देशन रहनेछ। कार्यक्रमको आकर्षणमध्ये ‘लक्की सेभेन गिफ्ट’ पनि रह्यो, जसअन्तर्गत ७ जना संचारकर्मीलाई दैनिक जीवनमा उपयोगी उपहार प्रदान गरियो। कार्यक्रमको सञ्चालन वरिष्ठ पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीले गरेका थिए। निर्देशक लिम्बूका अनुसार ‘जदौ’ जातीय समानताको सन्देश बोकेको एउटा ऐतिहासिक चलचित्र बन्नेछ।









