चलचित्र ‘गुन्यु चालो : द ड्रेस’ को गीत ‘म फूल हुँ कि काँडा’ यही साता सार्वजनिक गरिएको हो। लेखु सहयात्रीको शब्द र संगीतमा तयार गीतमा मनिषा पोखरेलको मिठासपूर्ण स्वर छ। गीतमा गहिरो प्रेमभाव, आत्मस्वीकृति र माया गर्ने अधिकारको माग प्रस्तुत गरिएको छ। गीत सार्वजनिक भएलगत्तै दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेका छन्।

विशेष गरी नाजिर हुसेनको प्रस्तुतिलाई दर्शकले अत्यन्त मन पराएका छन्। महिलाको भेषमा उनले देखाएको अभिनय, नृत्य, हाउभाउ र पोस्चरले गीतको प्रभाव बढाएको छ। सामाजिक सञ्जालमा नाजिरको यो लुक्सको चर्चा चुलिंदै गएको छ भने उनको गेटअप र आत्मविश्वासको खुलेर प्रशंसा गरिएको छ। भिडियोमा सुशील सिटौलाको समेत सशक्त उपस्थिति रहेको छ।

भदौ १३ गते रिलिज हुने चलचित्र ‘गुन्यु चालो : द ड्रेस’ नेपालकै पहिलो पूर्णरूपको ट्रान्स स्टोरी चलचित्र हो। समुन्द्र भट्टको निर्देशनमा बनेको यस चलचित्रमा नाजिर हुसेनले पारालैंगिक महिला (ट्रान्सवुमन) को भूमिका निर्वाह गरेका छन्। हलिउड शैलीमा तयार पारिएको यो चलचित्रमा लिजा जेरार्डको स्वर र मार्सेलो दी फ्रान्सिसीको संगीतले पनि दर्शकमाझ उत्सुकता बढाएको छ।

For More videos Log on to Mazzako TV