गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेको नयाँ नेपाली चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन्। शुक्रबार उनीहरूलाई औपचारिक सम्झौता गराइएको हो।

रानी म्युजिक इन्टरनेशनलको ब्यानरमा बन्ने यो चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गर्नेछन्। चलचित्र पारिवारिक प्रेमकथामा आधारित रहनेछ। कथा निर्देशक पाण्डेयकै हो भने संवाद र पटकथा संयोग गुरागाईंले लेखेका हुन्।

चलचित्रको छायांकन भदौको पहिलो साताबाट सुरु हुने र करिब ४० दिनसम्म चल्ने कार्यकारी निर्माता सागर ज्ञवालीले जानकारी दिए। यसका लागि विजय र वर्षाले तीन महिनासम्म अन्य फिल्म नगर्ने निर्णय गरेका छन्। चलचित्रमा संगीत राजनराज सिवाकोटीको रहनेछ भने गीत राजेन्द्र थापाले लेख्नेछन्। सम्पादन रोमी तण्डुकार र छायांकन महेश पौडेलको हुनेछ।

करीब ४ हजार गीत गाइसकेका गायक रामकृष्ण ढकाल सन् २००१ मा फिल्म ‘आशीर्वाद’मा अभिनय गरेर चलचित्र क्षेत्रमा आएका थिए। अब ‘मालती मंगले’ मार्फत उनी निर्माता बनेका हुन्। चलचित्र यो वर्षको अन्त्यतिर प्रदर्शनमा आउने तयारीमा छ।

For More videos Log on to Mazzako TV