‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म मार्फत दर्शकको मन जितेको व्यानर षट्कोण आर्ट्सले आफ्नो नयाँ फिल्म ‘लालीबजार’ घोषणा गरेको छ। अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा देखिने यो फिल्म फागुन १ गते प्रदर्शनमा आउने तय गरिएको छ।

फिल्मको पहिलो पोस्टर सार्वजनिक भइसकेको छ, जसमा स्वस्तिमा फरक अवतारमा देखिएकी छन्। उनी पोस्टरमा गर्भवती अवस्थामा देखिए तापनि उनको शृङ्गार र हाउभाउले आम महिलाभन्दा भिन्न चाहना र व्यक्तित्व झल्काउँछ। यही पोस्टरमार्फत फिल्मले चासोको विषय बटुलेको छ।

फिल्म यम थापा को लेखन तथा निर्देशनमा बन्नेछ भने निर्माता रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेस खत्री हुन्। कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन्।

स्वस्तिमा खड्काले फिल्मको कथा र टिम मन परेर यो प्रोजेक्ट रोजेको बताएकी छिन्। उनले भनिन्, “यो फिल्ममा दर्शकले अघिल्ला फिल्मभन्दा बिल्कुलै फरक स्वस्तिमा देख्नुहुनेछ। पोस्टरले धेरै कुरा बोलिरहेको छ, र म यो भूमिकालाई जीवन्त बनाउन उत्साहित छु।”

निर्माता बानियाँका अनुसार निर्देशक थापाको स्क्रिप्टले उनीहरूलाई निकै आकर्षित गरेको थियो। सुरुमा निर्देशन गर्ने कुरा नभए पनि, पटकथा मन परेपछि आफैंले निर्देशनको जिम्मेवारी दिन आग्रह गरिएको थियो। निर्देशक थापा यस फिल्मबाट आफ्नो निर्देशन यात्रा पुनः सुरु गर्दैछन्।

फिल्म दसैँपछि छायाङ्कनमा जानेछ। अन्य कलाकार तथा कथा विवरण क्रमशः सार्वजनिक गरिनेछ। पोस्टरमा केशव पाण्डे को फोटोग्राफी तथा रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) को डिजाइन रहेको छ।

‘लालीबजार’ षट्कोण आर्ट्सको एकल निर्माणमा बन्न लागेको पाँचौँ फिल्म हो। यसअघि यो व्यानरले ‘टल्कजङ्ग भर्सेस टुल्के’, ‘डाकिनी’, ‘सुपर मङ्क’ लगायतका फिल्ममा अन्य व्यानरसँग सहकार्य गरिसकेको छ।

For More videos Log on to Mazzako TV