‘महाभोज’ हेरेर साहित्यकार अमर न्यौपाने र विवेक ओझाको गहिरो प्रतिक्रिया
मदन पुरस्कार विजेता प्रख्यात साहित्यकारहरू अमर न्यौपाने र विवेक ओझाले हाल प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘महाभोज’ हेरेपछि गहिरो प्रतिक्रिया दिएका छन्। उनीहरूले चलचित्रको समसामयिक विषयवस्तु, प्रस्तुति शैली र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरेका छन्। न्यौपानेले ‘महाभोज’लाई “समयको कथा बोकेको चलचित्र” भनेका छन्, जसले सहकारी ठगीमा पिल्सिएका श्रमिक वर्गको व्यथा मार्मिक ढंगमा देखाएको बताउँछन्। उनले चलचित्रले कानुनी कमजोरीको यथार्थ चित्रण गर्दै न्यायको खोजमा समाज कसरी बलियो देखिन्छ भन्ने सन्देश दिएको उल्लेख गरे। ओझाले भने ‘महाभोज’मा प्रत्येक कलाकारको अभिनय सशक्त रहेको र चलचित्रले समाज, परिवार, विश्वास र धोका जस्ता भावनात्मक विषयहरूलाई गहिराइमा केलाएको बताए।

ओझाका अनुसार यो चलचित्रले केवल सहकारी घोटालामाथि होइन, मानव मनोविज्ञान र सामाजिक सम्बन्धहरूमा पर्ने असरसमेत देखाउन सफल भएको छ। उनले ‘महाभोज’ हेर्न सपरिवार सिनेमा हल जान आग्रह गर्दै, “यो चलचित्रले निराश पार्दैन” भनेका छन्। अमर न्यौपानेजस्तै विवेक ओझाले पनि यस चलचित्रलाई नेपाली समाजको ऐनाको रूपमा लिन सकिने उल्लेख गर्दै प्रशंसा गरेका छन्। यस्ता दुई प्रतिष्ठित साहित्यकारको मूल्याङ्कनले ‘महाभोज’ नेपाली चलचित्र क्षेत्रको मात्र होइन, साहित्यिक दृष्टिकोणबाट पनि महत्वपूर्ण सृजना सावित भएको पुष्टि गर्छ।
For More videos Log on to Mazzako TV