‘महाभोज’ हेरेपछि सांसद ज्ञानेन्द्र शाही बोले : संसदमै फेरि उठाउनु पर्ने मुद्दा
हाल प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘महाभोज’ ले सहकारी ठगीको यथार्थ विषयवस्तु उठाएको भन्दै प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले संसदमा पुनः आवाज उठाउनुपर्ने आवश्यकता भएको बताएका छन्। मङ्गलवार काठमाडौँको क्युएफएक्स सिनेमामा चलचित्र हेरेपछि उनले सञ्चारकर्मीहरूसँग भने, “निर्देशकले निकै हिम्मतका साथ यस्तो संवेदनशील विषय उठाउनुभएको छ, अब फेरि यो विषय संसदमा उठ्नेछ।” उनले चलचित्रले कुनै व्यक्ति लक्षित नगरी समग्र सहकारी प्रणालीमा भइरहेको दुरुपयोगको यथार्थ देखाएको उल्लेख गरे।

शाहीले यसअघि पनि सहकारीमा भएका ठगीका घटनाबारे संसदमा आवाज उठाइसकेका थिए। उनले भने, “सहकारी राम्रो उद्देश्यका लागि खोलिएको संस्था हो तर दुरुपयोग भयारहेको छ, अब त या त छानबिन गर्नुपर्छ, या त नयाँ ऐन ल्याउनु पर्छ।” चलचित्र ‘महाभोज’ को प्रभावले राजनीतिक दल, नेता र आम नागरिक सबैले चासो लिनुपर्ने अवस्था आएको उनको भनाइ छ।
यसैबीच, त्यही दिन कलाकार अनुभव रेग्मी, सलोन बस्नेत, निर्देशक शोभित बस्नेत, गम्भीर बिस्ट लगायतले पनि ‘महाभोज’ हेरेर यसको सामाजिक सन्देश, कथावस्तु र प्रस्तुतिको प्रशंसा गरे। दिनेश राउत निर्देशित र विकास सुवेदीले लेखेको यस चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ लगायतको अभिनय छ। चलचित्रलाई दर्शकहरूले ‘हेर्नैपर्ने’ फिल्मको रूपमा लिएका छन्, र यसले राजनीतिक वृत्तमा समेत बहसको वातावरण तयार पारेको छ।
For More videos Log on to Mazzako TV