सुदूरपश्चिममा सिनेमा संवाद : स्थानीय कला, संस्कृति र पर्यटनमा जोड
डोटीको जोरायल गाउँपालिकामा पहिलोपटक आयोजित ‘सिनेमा संवाद कार्यक्रम’ मा सुदूरपश्चिम प्रदेशका कला, संस्कृति, भाषा र पर्यटनलाई नेपाली सिनेमामा प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने आवाज उठेको छ। गाउँमै गरिएको कार्यक्रममा चलचित्रकर्मी, कलाकार, पत्रकार, विद्यार्थी र स्थानीयको उपस्थितिमा नेपाली सिनेमाको प्रभाव, सामाजिक सन्देश, बजार चुनौती र स्थानीय कथावस्तुको उपयोग विषयमा गहिरो छलफल गरियो। उद्घाटन गर्दै जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले सिनेमा संवाद गाउँ केन्द्रित हुनुपर्नेमा जोड दिँदै धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरू समेटिए सुदूरपश्चिम विश्वसामु चिनिन सक्ने धारणा राखे।

कार्यक्रममा चारवटा फरक सत्रमा संवाद गरियो। पहिलो सत्रमा नायिका उपासना सिंह ठकुरी, अभिनेता दिव्यदेव पन्त र पत्रकार समीर बलामीले नयाँ पुस्ताले नेपाली सिनेमामा भित्र्याएका दृष्टिकोण र प्रविधिको प्रभावबारे बोले। दोस्रो सत्रमा निर्देशक नवल नेपाल, अभिनेता पुष्प खड्का र साहित्यकार हेमन्त विवशले सुदूरपश्चिमका मौलिक कथा र ईतिहास सिनेमाको कथावस्तु बन्नुपर्ने बताए। नवल नेपालले सुदूरपश्चिममै छायांकन गरिने नयाँ चलचित्रको घोषणा समेत गरे। तेस्रो सत्रमा गीतकार हर्क साउँद, गायक नरेन्द्रराज रेग्मी र निर्देशक उमिद वागचनले डोटेली भाषा, देउडा संगीत र मौलिकता संरक्षणमा चलचित्रको भूमिका बारे धारणा राखे।

अन्तिम सत्रमा सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा सिनेमा कसरी प्रभावकारी हुन सक्छ भन्नेबारे कलाकार सरस्वती खड्का, निर्माता खड्गबहादुर मल्ल र अभिनेता प्रेम चौधरीले आ–आफ्ना विचार प्रस्तुत गरे। अपि हिमाल, खप्तड, सैपाल र दोधारा चाँदनी जस्ता स्थल सिनेमामा समेटिँदा पर्यटनमा पर्न सक्ने प्रभावबारे बहस गरियो। आयोजक संस्था चलचित्र पत्रकार संघ नेपाल, कैलाली र जेडी एसोसिएट्सले यस्तो कार्यक्रम सुदूरपश्चिममा पहिलोपटक फलदायी रूपमा सम्पन्न भएको जनाउँदै आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए।
