‘रियाल रिङ्गेट’को टिजर सार्वजनिक
नेपाली युवाको सपना, संघर्ष र प्रवासको पीडालाई मर्मस्पर्शी ढंगले प्रस्तुत गर्ने फिल्म ‘रियाल रिङ्गेट’को टिजर सार्वजनिक भएको छ। साउन १६ गते प्रदर्शन हुने यस चलचित्रले वैदेशिक रोजगारीको चम्किलो आवरणभित्र लुकेको अँध्यारो यथार्थ उजागर गर्छ। रेबेल फिल्म्सको व्यानरमा बनेको चलचित्रको टिजरले युवाहरूको पारिवारिक बिछोड, प्रवासमा हुने शोषण र धोखाधडीका दृश्यहरू मार्मिक रूपमा प्रस्तुत गरेको छ। “जब त्रिभुवन विमानस्थलबाट जहाज उड्यो, जहाजसँगै सपना र जिन्दगी उड्यो” भन्ने ट्यागलाइनले नै फिल्मको भाव व्यक्त गर्छ।

विभोर पोखरेल निर्देशित यस चलचित्रमा प्रमोद चौलागाईं, निता ढुंगाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का लगायतको अभिनय छ भने लेखन प्रदीप भारद्वाजले गरेका हुन्। भारतको राजस्थान र नेपालका विभिन्न स्थानमा छायांकन गरिएको फिल्ममा रामचन्द्र काफ्ले, सुगम पोखरेलजस्ता गायकको स्वर रहेको छ। निर्माता गगनलाल प्रधान रहेको यस फिल्मलाई काफिया फिल्म्सले वितरण गर्दैछ।