‘राम नाम सत्य’मा सुपुष्पा भट्टको इन्ट्री
नायिका सुपुष्पा भट्ट फिल्म ‘राम नाम सत्य’ मा अनुबन्धित भएकी छन्। माइकल चन्दको निर्देशनमा डेब्यू गर्न लागेको यो फिल्ममा सुपुष्पालाई विशेष भूमिकामा साइन गरिएको हो। निर्माण टिम र सुपुष्पाबीच कागजी सम्झौता भइसकेको छ। सुपुष्पाको पछिल्लो फिल्म ‘फेरि रेशम फिलिली’ मा उनको अभिनयको धेरै प्रशंसा भएको थियो, जसपछिको यो नयाँ प्रोजेक्टप्रति पनि उनको विश्वास देखिएको छ। निर्देशक चन्दका अनुसार, “हामीलाई सुपुष्पा जस्तै हाइट भएकी र अभिनयमा अब्बल नायिका चाहिएको थियो, त्यसैले उहाँलाई फाइनल गरियो।”

यसअघि नै नायिका दिव्या रायमाझी, अभिनेता विराज भट्ट र सुशिल श्रेष्ठ फिल्ममा फाइनल भइसकेका छन्। माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङले लगानी गर्दैछन्। फिल्मका कार्यकारी निर्मातामा डा. डीआर उपाध्याय, टीआर गौडेल र नरेन्द्र शाह छन्। छायांकन भदौबाट सुरु हुने बताइएको छ भने एक्सन, लभ र सस्पेन्सले भरिएको कथामा फिल्म निर्माण गरिने निर्माण पक्षले जनाएको छ।
फिल्मको छायांकन सुसन प्रजापतिले गर्नेछन्। अब केही कलाकारको छनोट बाँकी रहेको र त्यसपछि कलाकार लाइनअप पूरा हुने निर्माण टिमको भनाइ छ। सुपुष्पाको इन्ट्रीसँगै फिल्मको अपेक्षा बढेको छ भने निर्माण टिमले फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गरेको छ।
For More videos Log on to Mazzako TV