‘लाज शरणम्’ टिमद्वारा १०१ औं दिनमा सामाजिक सहयोग
फिल्म ‘लाज शरणम्’ ले प्रदर्शनको १०१ औं दिन मनाउने अवसरमा सिन्धुपाल्चोकको श्री बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीलाई सहयोग गरेको छ। फिल्मका निर्माता नवीन श्रेष्ठले ३० थान स्कुल ड्रेस, ब्याग र पानीको बोतल विद्यालयमा वितरण गरेका हुन्।

सहयोग कार्यक्रम मदर किड्स फाउन्डेसन नेपालको आयोजनामा भएको थियो। निर्माता श्रेष्ठले सामाजिक कार्यमा भविष्यमा पनि निरन्तरता दिने बताएका छन्। उनले सफलतापूर्वक प्रदर्शन भइरहेका फिल्मको अवसरमा यस्तो सहयोग गर्न पाउनु गौरवको कुरा भएको बताए।

कुमार कट्टेलको निर्देशन रहेको ‘लाज शरणम्’ ले १०० दिन पूरा गरिसकेको छ भने १०१ औं दिनको कार्यक्रम काठमाडौंका रञ्जना सिनेप्लेक्स र बिएसआर मुभिजमा आयोजना गरिएको हो। फिल्म शिवरात्रिको अवसरमा फागुन १४ गते प्रदर्शनमा आएको थियो। ‘लाज शरणम्’ गत वर्ष कात्तिक १५ गते रिलिज भएको ‘पूर्ण बहादुरको सारङ्गी’पछि १०१ दिन मनाउने पहिलो नेपाली फिल्म बनेको छ।

फिल्ममा सीताराम कट्टेल, अर्पण थापा, दयाहाङ राई, बुद्धि तामाङ, विजय बराल, अर्जुन घिमिरे लगायत कलाकारको अभिनय रहेको छ। निर्देशक कुमार कट्टेल स्वयं पनि विशेष भूमिकामा छन्। जेपीटी क्रिएसनको ब्यानरमा बनेको फिल्मका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माता हुन्।

निर्माता श्रेष्ठले आफ्नो नयाँ प्रोजेक्ट ‘पाँच पाण्डव’ निर्माणको तयारीमा रहेको बताएका छन्। उक्त फिल्मको निर्देशन वसन्त निरौलाले गर्ने र छायांकन भदौ महिनामा सुरु हुने योजना रहेको छ। साथै, उनले ‘लाज शरणम् २’ को तयारी पनि भइरहेको जनाएका छन्।
For More videos Log on to Mazzako TV