‘जन्ते बाख्रो’ लाई दर्शकको मज्जाको प्रतिक्रिया
जेठ २३ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘जन्ते बाख्रो’ ले दर्शकको राम्रो साथ पाएको छ। फिल्म प्रदर्शनको पहिलो दुई दिन, शुक्रबार र शनिबार, काठमाडौंका विभिन्न हलहरूमा दर्शकको उल्लेख्य उपस्थिति देखिएको थियो। निर्माण टिम कलाकारहरूसहित हल पुगेर दर्शकको प्रतिक्रिया संकलन गरेको थियो।

सौगात मल्ल, आशिफ शाह र गरिमा शर्मा मुख्य भूमिकामा रहेको फिल्मलाई दर्शकले निकै मन पराएका छन्। अभिनयको तारिफ गर्नुका साथै, निर्देशक सिमोस सुनुवारको निर्देशन शैलीको पनि प्रशंसा गरिएको छ। फिल्मले पुरानो जन्ती परम्परा, भोज संस्कार र गाउँघरको जीवनशैलीलाई मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गरेको छ, जुन कुराले दर्शकलाई आकर्षित गरेको देखिन्छ।

निर्माता सन्तोष गौतमले फिल्मलाई इमान्दारीपूर्वक, कुनै सम्झौता नगरी निर्माण गरेको बताए। उनीसहित सम्पूर्ण टिम दर्शकको उत्साहजनक प्रतिक्रिया पाउँदा खुशी भएका छन्। दर्शकको राम्रो ‘वर्ड अफ माउथ’ पाएका कारण वीक डेज (साता बीचको दिन) मा पनि फिल्मको व्यापार राम्रो हुने अपेक्षा गरिएको छ।

फिल्ममा सौगात मल्ल, आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी र समापिका गौतमको अभिनय छ।
प्रदीप भारद्वाजको लेखन रहेको फिल्मका लोकप्रिय गीतहरू ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ हुन्। हरि हुमागाईंको छायांकन निर्देशन, सुनिल शिवभक्तिको सम्पादन, र टिफल्क फिल्म्सको वितरणमा बनेको यो फिल्मको डिजिटल अधिकार जी टु वान डिजिटलले लिएको छ। ‘जन्ते बाख्रो’ ले मौलिक नेपाली कथावस्तु र संस्कृति प्रस्तुत गर्दै दर्शकको मन जित्न सफल भएको देखिन्छ।








