बेनिशा हमालको ‘द ब्ल्यू लाइट’ को पोस्टर सार्वजनिक
नेपाली सिनेमा ‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक गरिएको छ। निर्माणपक्षले आइतबार पोस्टर सार्वजनिक गर्दै चलचित्रको औपचारिक प्रचार सुरु गरेको हो। पोस्टरमा अभिनेत्री बेनिशा हमाललाई बारमा बसेको अवस्थामा देखाइएको छ। उनको औंलामा चुरोट छ, अगाडि रक्सीको ग्लास छ र अनुहारमा तनाव झल्किएको छ। निलो प्रकाशको संयोजन रहेको पोस्टरले उनी बारगर्लको भूमिकामा देखिने संकेत दिएको छ।

कसैले दिएको आश्वासनपछि धोका पाएको महिलाको मानसिक अवस्थाको झल्को हो कि भन्ने अनुमान गर्न सकिए पनि यसबारे निर्माणपक्षले केही खुलाएको छैन। बेनिशाको चरित्र र कथावस्तुबारे विस्तारमा जानकारी क्रमशः सार्वजनिक गरिने बताइएको छ। पोस्टर हेर्दा यो सिनेमा काठमाडौंको रङीन जीवनशैलीभित्र लुकेको अन्धकार र मानिसको मनोवैज्ञानिक संघर्ष प्रस्तुत गर्ने साइकोलोजिकल थ्रिलर हुन सक्ने संकेत मिलेको छ।
‘द ब्ल्यू लाइट’को छायांकन हाल काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भइरहेको छ। छायांकनको अवधि २० दिनको रहनेछ।चलचित्रको निर्देशन बलिराम चौहानले गरिरहेका छन्। उनले यसअघि बहुप्रतिक्षित चलचित्र ‘बलिदान’मा लेखक र मुख्य सहायक निर्देशकको रूपमा काम गरेका थिए। ‘द ब्ल्यू लाइट’ भने उनको निर्देशनमा बनेको पहिलो फिल्म हो।
यसअघि सार्वजनिक थिम पोस्टरमा निलो प्रकाशबीच उभिएकी एक रहस्यमय बालिकाको चित्रले चलचित्रको गहिरो मनोवैज्ञानिक पृष्ठभूमि झल्काएको थियो।फिल्ममा बेनिशासँगै अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी, बाल कलाकार ग्रिसमा कटुवाल र सहारा शर्मा मुख्य भूमिकामा छन्।
स्काइफल पिक्चर्सको प्रस्तुति रहेको चलचित्रको को–प्रोड्युसर रमन ग्रे हुन्। कार्यकारी निर्मातामा छायाकार नरेन्द्र मैनाली र बेनिशा हमाल छन्। चलचित्र सन् २०२५ भित्रै प्रदर्शनमा आउने निर्देशक चौहानले जनाएका छन्।
For More videos Log on to Mazzako TV