सौगात मल्ल र बेनिशा हमालको ‘कल्ली’ फागुन १ गतेदेखि प्रदर्शनमा
अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल अभिनीत फिल्म ‘कल्ली’ यही फागुन १ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ। लेकाली इन्टरटेन्मेन्ट प्रा.लि र कस्तुरी प्रोडक्सनको संयुक्त प्रस्तुति रहेको फिल्मको फस्टलुकसहित रिलिज मिति सार्वजनिक गरिएको हो।

किरण नेपालीको प्रस्तुति रहेको फिल्म ‘कल्ली’लाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। सामाजिक कथावस्तुमा आधारित फिल्म लेखन महेश दवाडीले गरेका हुन् भने कथा निर्देशक स्वयं लक्ष्मण सुनारले तयार पारेका हुन्। ‘बुलाकी’ निर्देशनपछि चर्चामा आएका सुनारले फेरि एकपटक सामाजिक विषयवस्तु उठाएर फिल्म निर्देशन गरेका छन्।

सार्वजनिक दुई पोस्टरमध्ये एकमा सौगात मल्ल बाघसँग उभिएका छन्, हातमा रगत लागेको भाला लिएर रिसाएको मुद्रामा देखिन्छन्। अर्को पोस्टरमा सौगातसँगै बेनिशा हमाल, उत्तम प्रधान, नाजिर हुसेन, अर्पण थापा र सुलक्षण भारती देखिन्छन्, जसले फिल्मको मुख्य पात्र र कथा झल्काउँछ।

फिल्ममा सौगात र बेनिशाका अलावा उत्तम प्रधान, नाजिर हुसेन, सुलक्षण भारती, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी र श्याम मगरले अभिनय गरेका छन्। बाल कलाकारको रूपमा उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा पनि फिल्ममा देखिनेछन्।
‘कल्ली’ले लोभको कथा देखाउनेछ। जब मानिसको मनमा लोभ बस्छ, त्यसले उसको जीवनलाई कस्तो मोडमा लैजान्छ भन्ने विषयवस्तुलाई फिल्ममा प्रस्तुत गरिएको छ।
फिल्ममा आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत, एनवी महर्जनको एक्सन निर्देशन, मिलन श्रेष्ठको सम्पादन र निसाल पौडेलको छायांकन रहेको छ। फिल्मको पोस्टर र कथावस्तुले दर्शकमा उत्सुकता थप बढाएको छ।
For More videos Log on to Mazzako TV