‘रातो पासपोर्ट’ निर्माण घोषणा,
नेपालीहरूले युरोपमा भोग्ने संघर्षको कथा बोकेको नयाँ नेपाली चलचित्र ‘रातो पासपोर्ट’ निर्माण हुने भएको छ। युरोपका विभिन्न देशहरूमा “रातो पासपोर्ट” अर्थात् स्थायी बसोबास र नागरिकता प्राप्त गर्ने सपना बोकेर जाने नेपालीहरूको वास्तविक अनुभवलाई चलचित्रले पर्दामा उतार्नेछ।
सिबर्ड्स पिक्चर्स र होप्स बजको प्रस्तुति तथा ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा बन्न लागेको चलचित्रको निर्देशन सिमसोन तामाङले गर्नेछन्। कथा माइकल तामाङले लेखेका हुन् भने पटकथा तथा संवाद प्रदीप कुमार चौधरीले तयार पारेका छन्।
केही दिनअघि निर्माण पक्षले सामाजिक सञ्जालमा “सबै भन्छन् – त्यता गएपछि सेटल भइन्छ रे, परिवारको भविष्य सुरक्षित हुन्छ रे, रातो पासपोर्ट पाइन्छ रे… !” भन्ने सन्देशसहित प्रचार सामग्री सार्वजनिक गरेको थियो। तर, चलचित्रको औपचारिक घोषणा भने आइतबार गरिएको हो। सो अवसरमा सार्वजनिक गरिएको पोस्टर युरोपेली देश पोर्चुगलको पासपोर्टको ढाँचामा डिजाइन गरिएको छ।

चलचित्रका निर्माता लोक बहादुर तामाङ हुन् भने कार्यकारी निर्माताको रूपमा प्रवेश पौडेल रहनेछन्। पौडेल यसअघि ‘अमेरिका ब्वाइज’ र ‘बिहे पास’ जस्ता चलचित्र निर्देशन गरिसकेका छन्।
प्राविधिक टिममा मेकअप तथा एसएफएक्सका लागि अमृत मरहट्ठा, छायांकनमा रवीन्द्र न्यौपाने र संगीतमा जयन जे. वाइबा रहनेछन्। पोस्टर तथा प्रचार डिजाइन ट्राइडेन्ट कन्सेप्ट टिमका रोयल भीमसेनले गर्नेछन्।
निर्देशक सिमसोन तामाङ नेपाली फिल्म उद्योगमा लामो समयदेखि एक्सन निर्देशक र प्रमुख सहायक एक्सन निर्देशकका रूपमा काम गर्दै आएका छन्। उनले ‘बाउन्सर’, ‘ब्ल्याक फ्ल्याग’, ‘किल्ला’, ‘राधे’, ‘पिँजडा ब्याक अगेन’ लगायतका चलचित्रमा अनुभव सँगालेका छन्।
कलाकारहरू नेपालबाट चाँडै छनोट गरिने र युरोप तथा युकेमा रहेका कलाकारहरूलाई अडिसनमार्फत लिने योजना रहेको कार्यकारी निर्माता पौडेलले जनाएका छन्। चलचित्रको छायांकन पोर्चुगल, अन्य युरोपेली देशहरू र नेपालमा गरिनेछ।
For More videos Log on to Mazzako TV