टंक बुढाथोकीको निर्देशन तथा निर्माणमा तयार भएको फिल्म ‘मन बिनाको धन’ को छायांकन कार्य सम्पन्न भएको छ। अशोक दर्जीको मुख्य भूमिका रहेको यो फिल्मको अन्तिम दृश्य प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा कन्सर्ट सीन छायांकन गर्दै इन्डकल्याप गरिएको हो। फिल्म २८ दिनसम्म काठमाडौं, पोखरा र मुस्ताङमा छायांकन गरिएको थियो। निर्देशक टंक बुढाथोकीका अनुसार फिल्म तिहार लक्षित गरी रिलिज गर्ने तयारी भए पनि मिति भने तोकिएको छैन।

सामाजिक विषयवस्तुमा आधारित यो फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, नीता ढुंगाना, भोला सापकोटा, रमा थपलिया, रवीन्द्र झा, बुद्धि तामाङ, साम्राज्ञी थापा, बिना राउत, प्रियंका झा, विजय डंगोललगायतका कलाकारको अभिनय रहेको छ। फिल्मको कथा टंक बुढाथोकीले नै लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले तयार पारेका हुन्। विष्णु माया मैनाली निर्माताको रूपमा रहेकी छन् भने सपना शर्मा कार्यकारी निर्माता हुन्।

फिल्ममा टंक बुढाथोकीको संगीत, सौरभ लामा र नवराज उप्रेतीको छायांकन, मित्र डी. गुरुङको सम्पादन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। अशोक दर्जीले पहिलोपटक लोकप्रिय गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत चर्चामा आएका थिए, जसमा बुढाथोकीकै संगीत थियो। हाल अशोक दर्जी काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन्।

For More videos Log on to Mazzako TV