‘रियाल रिङ्गेट’ साउन १६ गतेदेखि प्रदर्शनमा
वैदेशिक रोजगारीका लागि बिदेसिएका नेपाली युवाहरूको सपना, संघर्ष र बिछोडको भावनात्मक कथामा आधारित चलचित्र ‘रियाल रिङ्गेट’ साउन १६ गतेदेखि प्रदर्शनमा आउँदैछ। रेबेल फिल्म्सले पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो। विभोर पोखरेलद्वारा निर्देशित तथा गगनलाल प्रधान निर्मित यस चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन्। ‘रियाल रिङ्गेट’ नाम कतार, साउदी अरेबिया र मलेसियाको मुद्रा मिसाएर बनाइएको हो, जसले वैदेशिक रोजगारको वास्तविकतालाई जनाउँछ। पोस्टरको ट्यागलाइन “जब त्रिभुवन विमानस्थलबाट जहाज उड्यो, जहाजसँगै सपना र जिन्दगी उड्यो” ले चलचित्रको मर्मलाई एक वाक्यमा समेटेको छ।

फिल्ममा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राईलगायत कलाकारको अभिनय रहेको छ। चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन तथा किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर छ। गीतमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको संगीत तथा सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वर रहेको छ। पोस्टरमा देखिएका पात्रहरूको पीडा, शून्यता र सहरका गगनचुम्बी भवनहरूले खाडी मुलुकमा हुने जीवनको यथार्थ उजागर गर्ने संकेत गर्छन्।
For More videos Log on to Mazzako TV