‘उडिजाउं भने म पन्छी हैन’ गीत ‘परालको आगो’मा समावेश गरिने
निर्माणाधीन फिल्म ‘परालको आगो’मा चार दशकअघि बनेको चर्चित गीत ‘उडिजाउं भने म पन्छी हैन, बस्न ए लै मन छैन’ पुनः समावेश गरिने भएको छ। निर्माता सुशील पोखरेलको नेतृत्वमा निर्माण हुँदै गरेको यो फिल्मका लागि संगीतकार शान्ति ठटालसँग भारतको सिलगुडीमा पुगेर अनुमति लिइएको हो। गीतमा मनबहादुर मुखियाको शब्द, शान्ति ठटालको संगीत र स्व. अरुणा लामाको स्वर रहेको छ। निर्माता पोखरेलका अनुसार गीतलाई नयाँ ढंगले प्रस्तुत गर्नका लागि दुवै पक्षबीच औपचारिक कागजी सम्झौता पनि भएको छ। संगीतकार ठटालले यस फिल्ममा गीत समावेश गर्न अनुमति दिँदै फिल्मको सफलताको शुभकामना समेत दिएकी छन्।

गुरुप्रसाद मैनालीको कथा ‘परालको आगो’मा आधारित यस फिल्ममा अभिनेता जितु नेपाल, गायक तथा अभिनेता प्रकाश सपुत र अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा देखिने भएका छन्। हरिओम सिने मेकर्स र निर्देशक लक्ष्मण सुनारको टिमले दशैं २०८२ मा फिल्म प्रदर्शन गर्ने तयारी गरेको छ। निर्माता पोखरेलले फिल्मको लोकेसन, प्रस्तुतीकरण र पटकथा अघिल्लो संस्करणभन्दा फरक ढंगले तयार गरिएको बताएका छन्। मैनालीको ‘नासो’ कथा संग्रहमा संकलित यो कथाले दुई पात्र चामे र गौँथलीको झैँझगडा प्रस्तुत गर्छ। ‘बुलाकी’ निर्देशक सुनारको निर्देशनमा फागुनबाट छायांकन सुरु हुने जनाइएको छ।
