अभिनेता सौगात मल्लले फिल्म ‘जन्ते बाख्रो’ मा आफ्नो चरित्रलाई गहिरो रुपमा बुझ्ने र निर्माण गर्ने अवसर पाएको बताएका छन्। लेखकसँगको गहिरो छलफलपछि क्यारेक्टर तयार पारेको बताउँदै उनले यो भूमिकामा आफ्नै अनुभव पनि मिसिएको बताए। “एउटा सिनेमामा काम गरिसकेपछि केही समय पाईयो भने म नयाँ क्यारेक्टर निर्माण गर्न सक्छु,” मल्लले भने, “जन्ते बाख्रोमा त्यही समय पाएकोले मेरो चरित्र फरक देखिएको छ।”

फिल्मले ग्रामिण परिवेश, परम्परा र भोज भतेरसँग जोडिएको कथालाई समेटेको छ। सौगातले गाउँमा भोज भतेरमा काम गरेको अनुभव स्मरण गर्दै चलचित्रको कथा आफैंसँग जोडिएको अनुभूति भएको बताए। ‘जन्ते बाख्रो’ भित्रको रमाइलोपन, आत्मीयता र परम्परागत चालचलनलाई नयाँ पुस्तासमक्ष पुर्‍याउने उद्देश्यले बनाइएको छ। सौगातले आशिफ शाह र गरिमा पन्तसँगको सहकार्यलाई पनि सहज र रमाइलो अनुभव भएको बताए।

‘जन्ते बाख्रो’ मा सौगात मल्ल, आशिफ शाह, गरिमा पन्त, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी लगायतका कलाकारको अभिनय छ। मुईन इन्टरटेनमेन्टको निर्माणमा बनेको फिल्मको निर्देशन हरि हुमागाईंले गरेका हुन् भने कथा प्रदीप भारद्वाजले लेखेका हुन्। फिल्मको गीत ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलिसकेका छन्। ‘जन्ते बाख्रो’ ग्रामीण जीवनशैली, संस्कार र परम्परा प्रस्तुत गर्ने मनोरञ्जनात्मक फिल्म हुने निर्माण पक्षको विश्वास छ।

For More videos Log on to Mazzako TV