‘द ब्ल्यू लाइट’को शुभमुहूर्त सम्पन्न
चलचित्र ‘द ब्ल्यू लाइट’ को आज काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा विधिवत् शुभमुहूर्त गरिएको छ। शुभमुहूर्त समारोहमा फिल्मका मुख्य कलाकार तथा प्राविधिकहरूको उपस्थिति रहेको थियो। बलिराम चौहानको निर्देशनमा बन्न लागेको यस चलचित्रको छायांकन यही जेठ २२ गते बिहीबारदेखि सुरु हुने बताइएको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा खिचिने फिल्मको छायांकन तालिका २० दिनको लागि तय गरिएको छ। ‘बलिदान’ चलचित्रका लेखक तथा मुख्य सहायक निर्देशक रहेका चौहानको यो निर्देशनमा डेब्यु हो।

साइकोलोजिकल थ्रिलर विधामा निर्माण हुने ‘द ब्ल्यू लाइट’ मा अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र सुरक्षा इटानी प्रमुख भूमिकामा छन् भने बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन्। चलचित्रको थिम पोस्टर केही समयअघि सार्वजनिक गरिएको थियो, जसमा रहस्यमय र मनोवैज्ञानिक पृष्ठभूमि झल्किने दृश्य प्रस्तुत गरिएको छ। स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण हुने चलचित्रका को–प्रोड्यूसर रमन ग्रे, छायाकार नरेन्द्र मैनाली, सहायक निर्देशक आकाश उखेडा, प्रोडक्सन डिजाइनर रेलिजा श्रेष्ठ तथा निर्माण नियन्त्रक दिलीप पन्त रहेका छन्। निर्देशक चौहानले चलचित्रको कथावस्तु गोप्य राखेका छन् र प्रचार सामग्रीमार्फत क्रमशः जानकारी दिइने बताएका छन्। फिल्म सन् २०२५ भित्रै रिलिज गरिने योजना रहेको छ।
