निर्देशक तथा लेखक चन्द्र पन्तको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘आ बाट आमा’ मा अभिनेता पल शाह अनुबन्ध भएका छन्। स्क्रिप्ट पढेपछि भावुक बनेका पलले यस फिल्ममा काम गर्नका लागि आफूले चाँडै छायांकन सुरु गर्न आग्रह समेत गरेको बताएका छन्। “स्क्रिप्ट निकै इमोसनल छ, त्यसमाथि टिममा दिग्गज कलाकारहरू हुनुहुन्छ, त्यसैले म यो फिल्ममा काम गर्न तयार भएको हुँ,” उनले भने। चन्द्र पन्तको अघिल्लो फिल्म ‘ह्रस्वदीर्घ’ हेरेपछि उनको मेकिङबाट प्रभावित भएकाले पनि यसपटकको सहकार्यमा आफू ढुक्क भएको उनले बताए।

पलले यो फिल्म अहिलेसम्म आफूले खेलेका फिल्ममध्ये सबैभन्दा भावनात्मक हुने दाबी गरेका छन्। स्क्रिप्ट उनीसहितको टिमले दुई–तीन पटक सुनेको र हरेक पटक सबै भावुक भएको अनुभव पनि उनले सेयर गरे। तर, उनले हालका लागि आफ्नो चरित्रबारे भने गोप्य राख्ने बताएका छन्। केही समयपछि त्योबारे जानकारी दिने बताउँदै, उनले दर्शकले फिल्म निकै मन पराउनेमा आफू र पूरा टिम आशावादी रहेको बताए।

यसअघि फिल्ममा अभिनेत्री विपना थापा आमाको भूमिकामा अनुबन्ध भइसकेकी छन्। निर्देशक चन्द्र पन्तले १६ वर्षपछि ‘ह्रस्वदीर्घ’ मार्फत विपनालाई पुन: रजतपटमा ल्याएका थिए, जसलाई दर्शकले अत्यन्त रुचाएका थिए। अब फेरि उनीहरू ‘आ बाट आमा’ मार्फत दोहोरो सहकार्य गर्दैछन्। अभिमन्यू निरवीले लेखिरहेको स्क्रिप्टमा आधारित यो फिल्मले आमा–सन्तानबीचको भावनात्मक सम्बन्धको कथा भन्नेछ। केही दिनअघि सार्वजनिक गरिएको थिम पोष्टरमा आमाको आँशु थाम्न बच्चाको हात देखाइएको थियो। निर्देशकका अनुसार फिल्म आगामी फाल्गुन १५ गतेबाट प्रदर्शनमा आउनेछ।

For More videos Log on to Mazzako TV