विशेष परिस्थितिका कारण निर्धारित मिति जेठ १५ मा प्रदर्शन हुन नसकेको नेपाली सिनेमा ‘महाभोज’ अब यही जेठ ३० गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले नयाँ मिति घोषणा गर्दै दर्शकसँग क्षमा मागेको छ । निर्देशक दिनेश राउतले दर्शकको धैर्य र समर्थनका लागि आभार व्यक्त गर्दै भने, “यो हाम्रो समाजको कथा हो, तपाईँहरूको साथ र मायाले मात्र हामी सफल हुन्छौँ, त्यसैले नजिकको हलमा ‘महाभोज’ हेर्न नबिर्सिनु होला ।”

केही दिनअघि काठमाडौंमा आयोजित प्रिभ्यु शोमा चलचित्रले अत्यन्त सकारात्मक प्रतिक्रिया बटुलेको थियो । सहकारी पीडितहरूको कथा प्रस्तुत गर्ने ‘महाभोज’ सामाजिक यथार्थलाई भावनात्मक तथा मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने प्रयास हो । शोमा सहभागी दर्शकहरूले फिल्मलाई निकै सशक्त विषयवस्तु र उत्कृष्ट अभिनयले भरिएको भनेर प्रशंसा गरेका थिए ।

दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला जस्ता कलाकारहरूको अभिनय रहेको यस चलचित्रमा समाजका ज्वलन्त मुद्दालाई उठाइएको छ । क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुतिमा बनेको ‘महाभोज’का निर्माता हिमाल कडरिया हुन् । चलचित्रले सामाजिक सन्देशसहित दर्शकलाई गम्भीर विषयमा सोच्न बाध्य बनाउने विश्वास निर्माण टिमले लिएको छ ।

For More videos Log on to Mazzako TV