‘जन्ते बाख्रो’को फरक शैलीमा प्रचार
आगामी जेठ २३ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘जन्ते बाख्रो’को प्रचारमा निर्माण टिमले अनौठो र आकर्षक शैली अपनाएको छ । यसअघि टेम्पोमा पोस्टर टाँसेर प्रचार गरेको टिमले शनिबार राजधानीको सिटी स्क्वायर मलमा ‘जन्ते बाख्रो साँझ’ नामक भव्य कार्यक्रम सम्पन्न गर्यो । अभिनेत्री गरिमा शर्मालाई दुलहीको भेषमा बग्गीमा राखेर सामाखुसीस्थित बिजी मलबाट पन्चे बाजासहित विवाह जुलुस शैलीमा कार्यक्रम स्थलसम्म ल्याइएको यो कार्यक्रममा कलाकारहरू आसिफ शाह, गरिमा शर्मा, विशाल पहारी, कमल देवकोटा, समापिका गौतम लगायतको उपस्थिति थियो । कार्यक्रमलाई बाबुल गिरी, महेश काफ्ले, अस्मिता अधिकारीजस्ता गायक गायिकाको लाइभ प्रस्तुतीले थप रंगीन बनायो ।

गाउँघरको हराउँदै गएको परम्परा र संस्कृति झल्काउने ‘जन्ते बाख्रो’ले मौलिकता र मनोरञ्जनको संयोजनमार्फत दर्शकलाई आकर्षित गर्ने लक्ष्य राखेको छ । सन्तोष गौतमद्वारा निर्मित र सिमोर सुनुवारद्वारा निर्देशित यो सिनेमामा प्रदीप भारद्वाजको कथा, हरि हुमागाईं र उत्तम हुमागाईंको छायांकन तथा सुनिल शिवभक्तिको सम्पादन रहेको छ । ‘घामै राजा’, ‘मुकु मुकु म्या’, र ‘अङ्गुरको झुप्पो’ जस्ता सार्वजनिक गीत तथा ट्रेलर दर्शकले पहिले नै रुचाइसकेका छन् । टिफल्क फिल्म्सले वितरण गर्ने र जी टु वान डिजिटलले डिजिटल अधिकार लिएको यो सिनेमा नयाँ पुस्तालाई मनोरञ्जनसहित मौलिक परम्पराको जानकारी दिने विश्वस्त निर्माण पक्षले जनाएको छ ।
