अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर हुने
चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियाबाट आफ्नो अन्तर्राष्ट्रिय यात्रा सुरु गर्न लागेको छ । नेपालमा जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा रिलिज गर्ने तयारी भए पनि राजनीतिक अस्थिरता र आन्दोलनको सम्भावित जोखिमका कारण अन्तिम समयमा रोकिएको उक्त चलचित्र अब अस्ट्रेलियाको पर्थस्थित ग्यालेरिया सपिङ सेन्टरको इभेन्ट सिनेमामा जुन १ तारिख, शनिवार साँझ ६ बजे भव्य प्रिमियरका साथ सार्वजनिक हुने पक्का भएको छ । पर्थका आयोजक र अस्ट्रेलियाली वितरक रोटेपिङ इन्टरटेन्मेन्टले यसको व्यवस्थापन गरिरहेका छन् । छोटो तयारीका कारण प्रमुख कलाकार तथा निर्देशकले प्रारम्भिक प्रिमियरमा सहभागिता जनाउन नसके पनि आगामी दिनमा विभिन्न सहरका शोहरूमा उनीहरू सहभागी हुने जनाइएको छ ।

दिनेेश राउतको निर्देशनमा तयार भएको चलचित्र ‘महाभोज’ले सहकारी ठगीको मारमा परेका परिवारहरूको पीडा र त्यसको सामाजिक असरलाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ । दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महतलगायत कलाकारहरूको अभिनय रहेको चलचित्रले हालै काठमाडौंमा गरिएको प्रिभ्यु प्रदर्शनमा सकारात्मक प्रतिक्रिया पाएको थियो । सहकारी पीडितहरूले आफूहरूको आवाज बुलन्द बनाउन प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन् । नेपालमा रिलिज ढिलाइ भए पनि ‘महाभोज’ले अस्ट्रेलियाबाट सुरु हुने अन्तर्राष्ट्रिय प्रदर्शनमार्फत कस्तो प्रभाव पार्छ भन्ने कुराले नेपाली फिल्म उद्योगमा चासो बढाएको छ ।
For More videos Log on to Mazzako TV