फिल्म ‘परी’को शुभ मुहुर्त सम्पन्न
निर्देशक तथा लेखक गोविन्द गौतमको निर्देशनमा बन्न लागेको नयाँ नेपाली फिल्म ‘परी’को शुभ मुहुर्त काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा स्क्रिप्ट पूजासहित सम्पन्न भएको छ। मुहुर्त कार्यक्रममा फिल्मका मुख्य कलाकार किरण केसी, दीपाश्री निरौला, लक्ष्मी गिरी, दीपक अधिकारी, रेणु दुलाललगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा किरण केसीले स्क्रिप्ट अत्यन्तै मन परेको बताउँदै, “दीपासहित हामीले गरेका स्क्रिप्टमध्ये निर्देशक गौतमले तयार पार्नुभएको यो स्क्रिप्ट सबैभन्दा दमदार लाग्यो,” भन्ने प्रतिक्रिया दिए।

दीपाश्री निरौलाले फिल्मको कथा तथा स्क्रिप्ट पक्ष निकै सशक्त रहेको बताउँदै, “हामी कलाकार मात्र होइन, सबै पक्षले मिलेर मेहनत गर्दा मात्र फिल्म सफल हुन्छ,” भन्दै आफूले पनि कथाले मन छोएकै कारण फिल्ममा काम गर्न राजी भएको जनाइन्। फिल्ममा किरण र दीपासहित प्रियंका कार्की, निर्देशन डिसी, दिग विजय केसी, श्याम राई, घनश्याम गिरी, संगम गौतम, जेसिका पोखरेल, निशा गौतम, अर्नव नागिला लगायतको अभिनय रहनेछ।

‘परी’को छायांकन यही जेठ २८–२९ गतेदेखि दोलखा र तनहुँ आसपासका क्षेत्रहरूमा सुरु गरिने निर्देशक गौतमले जानकारी गराएका छन्। फिल्ममा बाबु श्रेष्ठको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, दीपक शर्मा र विकास चौधरीको संगीत तथा डा. खेम क्षेत्री, रचना रिमाल र डा. महेन्द्र भट्टको गायन रहनेछ। गीत आनन्द अधिकारीले लेखेका छन् भने प्रोजेक्ट म्यानेजरको जिम्मेवारी सुवास काफ्लेले लिएका छन्। चन्द्र भण्डारी फिल्मका मुख्य सहायक निर्देशक रहनेछन्।
