चलचित्र ‘महाभोज’को विशेष प्रिभ्युमा सहकारी पीडितले हलमै गरे नाराबाजी
नेपाली चलचित्र ‘महाभोज’ को विशेष प्रिभ्यु प्रदर्शन मङ्गलवार साँझ काठमाडौंमा सम्पन्न भएको छ। पत्रकार, चलचित्र युनिटका सदस्यहरू तथा देशभरका सहकारी पीडित प्रतिनिधिहरूको उपस्थिति रहेको सो कार्यक्रममा भावनात्मक माहोल देखिएको थियो। सहकारी संस्थामा ठगीका घटनाबाट पीडित व्यक्तिहरूले चलचित्रले आफ्ना पीडाको यथार्थ प्रतिनिधित्व गरेको बताउँदै, यसले न्यायको आवाज बुलन्द बनाएको प्रतिक्रिया दिए।

चलचित्रको कथावस्तुले पत्रकारहरूबाट पनि सकारात्मक प्रतिक्रिया पाएको छ। निर्देशक दिनेश राउतको निर्देशन, लेखक विकास सुवेदीको लेखन र सम्पूर्ण कलाकारहरूको अभिनयको प्रशंसा गरिएको छ। सामाजिक यथार्थलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको भन्दै ‘महाभोज’ केवल चलचित्र नभई एक सशक्त सामाजिक दस्ताबेज भएको प्रतिक्रिया दिइएको छ।

दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइलीलगायत कलाकारको अभिनय रहेको यो चलचित्र सहकारी संस्थासम्बन्धी गम्भीर सामाजिक विषयमा आधारित छ। चलचित्रको अग्रिम टिकट बुकिङ खुलिसकेको छ भने देशभर करिब २ सय शोमा प्रदर्शन हुने बताइएको छ। चलचित्र नेपालसँगै विदेशका केही देशहरूमा पनि एकसाथ प्रदर्शनको तयारीमा रहेको छ।
