‘जन्ते बाख्रो’को तेस्रो गीत ‘मुकु मुकु म्या’ सार्वजनिक
जेठ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘जन्ते बाख्रो’ को तेस्रो गीत ‘मुकु मुकु म्या’ सार्वजनिक गरिएको छ। डिजिटल पार्टनर G21 Digital मार्फत सार्वजनिक गरिएको यो गीत चलचित्रको शीर्ष गीत हो। नेपाली ग्रामीण परम्परा र सांस्कृतिक चलनलाई समेटिएको यस गीतमा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, र विशाल पहाडी लगायतका कलाकारहरूको अभिनय समावेश गरिएको छ। गीतले विशेषगरी गाउँले जनजीवन र विवाह संस्कृतिको रमाइलो पक्षलाई दर्शाउने प्रयास गरेको छ।

गीतमा कृष्ण भारद्वाज र निर्भिकल्पम को शब्द, कृष्ण भारद्वाज कै स्वर तथा रिकेश गुरुङ को संगीत रहेको छ। प्रदीप लामो को कोरियोग्राफीमा तयार भएको गीतलाई लोकेश बज्राचार्य ले सम्पादन गरेका हुन्। भिडियोमा देखिने नृत्य र प्रस्तुति दर्शकलाई मनोरञ्जन दिने किसिमले तयार पारिएको छ। गीतले चलचित्रप्रति उत्साह थप बढाएको छ।

सिमोश सुनुवार को निर्देशनमा बनेको यो चलचित्र ‘जन्ते बाख्रो’ विशेषगरी विवाह समारोहमा बेहुली पक्षले जन्तीलाई बारी वा खुला ठाउँमा खुवाउने परम्परा—जन्ते बाख्रो खुवाउने चलन—माथि आधारित छ। सामाजिक हास्यरसमा आधारित यो चलचित्रमा रमेश शाह, कमल देवकोटा, रुशा न्यौपाने, रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम र कुशल गजमेर लगायत कलाकारहरूको अभिनय छ। मुईन इन्टरटेनमेन्ट को प्रस्तुति रहेको चलचित्रलाई सन्तोष गौतम ले निर्माण गरेका हुन् भने पटकथा प्रदीप भारद्वाज को रहेको छ।