नेपाली सिनेमा ‘होस्टेल ३’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएसँगै, सोही सफल टिमले अर्को नयाँ चलचित्र ‘बाउ भर्सेस छोरा’को घोषणा गरेको छ। सम्मान इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रले दुई पुस्ताबीचको सोच, मूल्य र व्यवहारको टकरावलाई मुख्य विषय बनाउनेछ।

चलचित्रका निर्देशक सशान कँडेलका अनुसार ‘बाउ भर्सेस छोरा’ले पुरानो पुस्ता अर्थात् ‘X Generation’ र नयाँ पुस्ता ‘Z Generation’ बीचको अन्तरलाई रोचक ढंगले प्रस्तुत गर्नेछ। टाइटल डिजाइनमार्फत नै दुई फरक पुस्ताका सोचलाई देखाइएको छ, जसको डिजाइन रोयल भीमसेनले गरेका हुन्।

लेखक माधव शर्माले चलचित्रले केवल बाउ र छोराबीचको शारीरिक दूरी मात्र होइन, सोच, दृष्टिकोण र जीवनप्रतिको बुझाइमा आएको फरकलाई चित्रण गर्ने बताए। उनले अहिलेको युवापुस्ताले भोगिरहेको दुर्व्यसन, मानसिक तनाव र पुस्तासँगको दूरीलाई चलचित्रको मुख्य कथा बनाइएको जानकारी दिए।

‘बाउ भर्सेस छोरा’ अहिले स्क्रिप्टको अन्तिम चरणमा रहेको छ। चलचित्रको कलाकार चयन, छायाङ्कन सुरु हुने मिति र प्रदर्शन समयबारे चाँडै जानकारी दिने निर्माण टिमले जनाएको छ।

यसअघि ‘होस्टेल ३’ पनि माधव शर्माको लेखन र सशान कँडेलको निर्देशनमा बनेको थियो, जसले प्रदर्शनको ५१ दिन पूरा गरेर दर्शकको मन जितेको थियो।

नयाँ चलचित्र ‘बाउ भर्सेस छोरा’का कार्यकारी निर्माता शङ्कर कोइराला हुन्। सामाजिक यथार्थमा आधारित यो कथाले नेपाली समाजमा देखा परिरहेको पुस्तान्तरणको मुद्दालाई पर्दामा ल्याउने विश्वास लिइएको छ।

For More videos Log on to Mazzako TV